तिमी थियौ र म थिएँ
हाम्रो सुन्दर संसार थियो
फूलहरू रंगीन लाग्थे
हरेक दिन मुस्कुराउँथ्यो जिन्दगी
सँगै तिमी र म पनि

हरेक साँझ रमाइलो
बोकेर आउँथ्यो
र, बिहानी दुनियाँदारीमा बित्थ्यो
प्रत्येक पाइलाले हिमाल चढ्थ्यो
सँगै तिम्रो र मेरो भविष्यको शुरूवात पनि

तिमी मुस्कुराउँदा मुस्कुराउँथ्यो
मेरो ओठ र सारा शरीर
तिम्रा छेउछाउ नाच्थे मेरा सपनाका लहरहरू
घुम्टो ओढी लजाउँदै निहुरिन्थे नयनहरू
तिम्रा र मेरो एक हुने चाहना

सिनेमाको एक नायकको आगमनझैँ
लाग्थ्यो तिम्रो उपस्थिति
वनजंगलका कान्ला कान्ला
एक्लिन्थे होला हामी नपुगेका दिन

खोलाको सुस्केरामा हाम्रो पिरती
घनघोर जंगलमा मायालु आभास
सम्झन्छन् कि सम्झदैनन् ती
चखेवा र चखेवीका जोडी
तिमीले र मैले लगाएको पिरती !