यसपाला पनि अभावका खडेरी
खसे भन्छन् पहाडतिर
पल्लो गाउँमा पर्म तिर्न जाने
साइँली माइलीहरू इज्जत गुमाएर फर्के भन्छन्
मेला पर्मको गणितमा
खर्कभरि बुकीफूलहरू
ओइलाए भन्छन् आफ्नै वैँशमा ठेस लागेर
भीरमा यौवनका सुगन्ध छर्दै
सुनाखरी र गुराँसको यसै वर्ष
ढल्कियो रे वैँश !
खोरुण्डे मेलामा धान नाच्न गएकी
गैरीघरे फुपू पनि यस बर्ख त
फच्चा गइछन् बुढेसकालमा
राँगा मारी खानुछ भन्थ्यो रमिते जेठाले
गाउँमा हस्पिटल खुलेपछि
ओथारो बस्न छोडेकी स्वास्नीको पीडामा
माती हिँड्न थाले भन्छन् फेदापे काका
गोठालो जाने ठूलाघरे तुम्बा
विदेशी गीत सुन्न थालेछन् एफ. एम. मा
रामायणको निधन भएपछि
देशका आँखा रसाउँछन् कि रसाउँदैनन् ?
यी सबैको व्यथामा –
हाट भरेर घर फर्किँदा
साइँलीहरूको इज्जत गुमेपछि
गुम्छ कि गुम्दैन देशको इज्जत ?
भोजपुरमा राई कान्छाले साकेला नाच्दा
देशले एक पानस खुशीमा
हल्लाउँछ कि हल्लाउँदैन सेउली ?
**
तमोर दोभानको माझीटारमा जाल हान्ने
देउमान माझीको धूरी धुवाउन छोड्यो भन्छन्
ऊ नेपालको नागरिक हो भन्ने
थाहा छ कि छैन राज्यलाई ?
अर्थात् देशको मानचित्र पल्टाउँदै जाँदा
नेपालमा देखिन्छ कि देखिँदैन माझीटार
राज्यको दृष्टिमा
यसैपाला फेरि हाङ्देवा पहिरोले
पैह्रे कान्छाका याक्साबाटै हल गोरु बगाउँदा
उनीहरूका नाउँमा छुट्टिएको बजेट
राज्यका कुन पोल्टोमा पर्छ कि !
पैह्रे कान्छाहरूले बजेट आयो भन्ने मात्र सुन्छन् ?
खै राज्यका दृष्टि अन्धा भए भन्ने सुनिन्छ
**
आठराईमा तुम्बापो कान्छाले
उँधौली उँभौली पूजा लाउँदा
चासोकमा फेदापे काकाले च्याब्रुङ बजाको बेला
राज्यले –
एक फन्को केलाङ नाच्नु पर्ने हो पालाम गाउँदै
गौँथली काकीले हाक्पारे गाउँदा
बजाउनु पर्ने हो राज्यले मुर्चुङ्गा !
पेङ्दोर्जेले डम्फू बजाउँदा
ताजी पहिरिएर राज्यले गाउनु पर्ने हो सेलो
तर यी सबको सट्टामा –
दृष्टिविहीन छ भन्ने सुनिन्छ देश
भोक तीर्खा रोएका पहाडहरूमा
कैयन् दिन भो गोँधुली साँझ नआएको
पोहोरको पर्म तिर्न नपाएर
आकाशको रुवाइ पर्खी बसेकी दिलमाया
बिँडीमा अभावका धुवाँ उडाउँदै बस्या छे रे !
गरिबीको अभावले एक पानस
वैँश पोख्न नपाएकी लालमाया
कान छामी बस्छे भन्छन् खोरको सुँगुर हेर्दै
पर्म तिर्नेहरूलाई पर्म लाउन सक्दैन देश
**
मेरो प्रिय देश !
मलामीहरू पर्म तिर्न गएका दिन
म मरेँ भने…
जुठो लाग्दैन देशलाई
ठूली प्रशव व्यथाले थलिएका दिन
बरखी बारेका होलान् ओखतीले
थकान मार्न बिर्सिएका चपलीवयसी जाँगरहरू
बाँझो चिरेर नथाकेका परिश्रमहरू
देशमा पर्छन् कि पर्दैनन् ?
त्यसैले म –
देश र मलामी भएकै बेला मर्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।