उज्यालो हुनै पाएको थिएन
सूर्य देवता पनि कुइरोको घुम्टोभित्रै थिए
नाकका पोरा फुलाउँदै राता आँखा खोली
ठिङ्ङ खडा थिइन् ग्रेटा थुनबर्ग मेरा सामु
हातको कुचो मैतिर ताक्दै ‘हाउ डेयर यु’ मुद्रामा…
‘पर्यावरण बचाऔँ भन्दै बिगुल बजाई हिँड्छौ
तर
आफ्नै कोठालाई किन बचाउँदैनौ पुस्तक प्रदूषणबाट?
ओछ्यानभरि उत्तानो परी मुख बाइरहेका पुस्तकहरू
टेबलमाथि आँ गरिरहेको कम्प्युटरको पर्दा
अव्यवस्थित कागजका पन्नाहरू
यत्रतत्र छरिएका कलम कापीहरू
बाढीले विध्वस्त पारी छाडेको
कुनै सुख्खा भत्केको गाउँ जस्तो
भताभुङ्ग कस्तो तिम्रो पढ्ने इको सिस्टम्’?
मलाई एक्लो पारी
स्वाट्ट चम्पट कस्यो
आइतबारको मेरो अल्छे तन्द्रा
सिरकभित्रबाट
हठात्
वैश्विक तापले भक्भक उम्लन लागेको
मेरो घरको परिस्थितिमा टिक्न नसकेर
मिलिक्कै अल्पिए
मेरा पर्यावरण अङ्कुरित भावनाहरू
कुनै बेला अतिवृष्टि त कुनै बेला अनावृष्टि हुने वातावरणमा
आज त पूरै ‘क्लाइमेट चेन्ज’ भएछ श्रीमतीको
उनको शब्द प्रदूषणको घुइँचोबाट जोगिन
तत्काल हान्निएँ म घरको प्रवेशद्वार बाहिर
ठिक्क त्यति बेलै
स्वात्तै एक मुस्लो गाडीको धुवाँले
फुलाइदियो मेरा फोक्साका वायु कोषहरू
पाइलो चाल्नै आँटेको थिएँ
चिच्च्याई चिच्च्याई वेदना पोख्यो
घरको छेवैको खजुरको रुखले
‘ए वृक्षप्रेमी भलाद्मी
रस चुस्ने पिपासुहरूले
ताडी थाप्ने गाग्रो झुन्ड्याउन
आँख्लै आँख्ला पारी टुक्र्याए मेरो जिउ
तिखा दाँत ङिच्याएको
आरा जस्तो पारे सारा शरीर
चसचसी घोचेको छ अङ्गप्रत्यङ्गहरू
कति पीडा सहनु मैले?
तर मलाई छोड
सक्छौ भने
बचाऊ मेरो साथ मै उभिएको यो अर्जुन रुखलाई
दुई खुट्टेले
जिउँदै छाला काढ्छन् यो बबुरोको त
देहभरि गाँठै गाँठा भएको छ बिचराको
वेदनामा सुस्केरा हालिरहन्छ दिनरात
किङ्कर्तव्यविमूढ म
फनक्क फर्केँ आफ्नै घर
कुचाको टुप्पामा
झुन्डिएको घायल माकुरो लिएर
थुनबर्ग यसपल्ट महाकाली भएकी रहिछिन्
“मारिहाल यो दुस्कर्मा फोहोरी प्राणीलाई
घरैभरी जालो फिजाउँछ पातकीले”
तर
खाद्य सिक्रीको त्यो बुनियादी प्राणी बिचरा
निन्याउरो अनुहारले जम्ल्या हात गरी
मलाई नै
बिन्ती गरिरहेछ
‘रक्षा गर प्राण मेरो
हे पृथ्वी बचाउने प्रणप्रार्थी’
दोसाँधको प्रश्न चिह्न आई तुर्लुङ्ग झुन्डियो मेरा सामु
अनि पेन्डुलम जसरी झुलिरह्यो
मेरो र श्रीमतीको बिचमा ।
प्राध्यापक
असम कृषि विश्वविद्यालय
गुवाहाटी, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।