मेरो प्रिय मान्छे,
संसारले आज श्रद्धा र मनोजको
प्रेमको चर्चा गरिरहँदा,
मलाई पनि सुनाऊँ सुनाऊँ लाग्यो,
तिमी मनोज भएर पनि श्रद्धा थियौ
जुन मेरो जीवनको मिठो सत्य थियो ।

म ‘मनोज’ जस्तै टुटेर फुटेर
एकोहोरो निराशामा डुबिरहँदा
एक तिम्रो मात्र त साथ थियो,
जसले मलाई हौसला दियो,
एक तिम्रो मात्र त हात थियो ,
जसले मलाई आडभरोसा दियो ।

मेरा पैतालाहरूमा साहस नहुँदा
तिम्रा भरोसाका बैसाखीहरू मात्र त थिए
मेरो साथमा,
जसको साहाराले नै मलाई लर्खराउँदै
अगाडि बढाएको थियो ।
मेरा धड्कनहरूमा अस्तित्वको सास नहुँदा
मात्रै तिम्रा प्रेमका स्पदनहरू त थिए ।
मेरो निर्जीव नशाहरूलाई सजीव
बनाएका थियौ तिमीले ।

समाजले लगाइदिएको थियो
एउटा झुटको पर्दा,
जसको परिणाम ज्वालमा म जल्दा,
एक तिमी त थियौ,
प्रेमरुपी जलले त्यो तड्पिएको लप्का निभाउने,
साथ र विश्वासले ती घाउमा मलम लगायौ ।
त्यसैले त हेर न आज तिम्री श्रद्धा
कति साहस र मुस्कानका साथ
उभिएकी छे तिम्रा आडैमा ।

हाम्रो यात्राको नबन्ला कहानी
नउतारिएलान् हाम्रो प्रेम चलचित्रका पर्दामा,

तर
म कृतज्ञ छु,
आभारी छु ,
सुनाएउँदै छु यो प्रेमको गाथा
ताकि श्रद्धाको मात्र समर्पण हैन
यहाँ कति मनोज छन् यो समाजमा,
जो जरुरी पर्दा श्रद्धा भएका छन्
सम्हालेका छन् टुटेका श्रद्धारूपी मनोजलाई
र जोडेका छन् टुक्रिएका ती कैयौँ सपनाहरूलाई,
बनाएका छन् कमजोर श्रद्धालाई
एक बलियो ‘मनोज’ ।

मेरो प्यारो मान्छे,
तिमीलाई आभार,
तिमीलाई सम्मान,
अनि धेरै धेरै माया ।।