जानेहरूलाई

सोध्नु छ एकदिन,
कस्तो रहेछ उसको अंगालोको स्वाद ?
के फरक रहेछ त उसको स्पर्शमा ?
कुन अनुभूति हुने रहेछ उसको आलिशान महलमा ?
कति रंगीन हुने रहेछ उसको नामको सिन्दुरमा ?

जानेहरू
कसरी खुसी हुनसक्छन् बस्नेहरूलाई रुवाएर ?

सुनाउनु छ एकदिन,
झुट थिए होलान् धेरै कुराहरू
थुप्रै खोट थिए होलान् बस्नेहरूमा
तर,
जन्मदिने आमाका नामका दिएर बाचाहरू झुट थिए र ?
मध्यरातमा कसैका लागि खसेका ती आँसुहरू झुट थिए र ?

बस्नेहरू प्रेम माग्दै तड्पिरहे
अनगिन्ती अनुभूतिहरू मनभित्रै गुम्सिरहे
तर,
सुन्नेहरूले सुन्नै नचाहेनन्

अनि
बस्नेहरूको भागमा- ‘यु क्यान्ट रिप्लाई टु दिस कन्भर्सेसन’

सुनाउनु छ एकदिन,
मन भारी हुँदा होस् या खुसी हुँदा
साँझमा हिँड्ने ती गल्लीहरूमा
गल्लीका चियापसलहरूमा
चियाका अन्तिम चुस्कीहरूमा
यताउता जताततै जानेहरूलाई नै कुरिरहेको हुन्छ मन !

किनकि
जानेहरूले छोडेर गएका हुन्छन्
-एकमुठी यादहरू
-एक अञ्जुली मीठा सपनाहरू

बनाउनु छ एकदिन,
प्रेम भन्दा बिछोडलाई प्यारो,
खुसी भन्दा पीडालाई मज्जा,
भेट भन्दा पर्खाइलाई रमाइलो,
साथ भन्दा एकान्तलाई खास,

किनकि
मनलाई अब फेरि तड्पिनु छैन, छट्पटिनु छैन !

भन्नु छ एकदिन,
सिउँदोमा देखिएको सिन्दुरले
सम्बन्ध समाप्त हुन्छ
प्रेम सकिँदैन
सँगै देखेका ती निर्दोष बाचाहरूको माया लाग्छ
सपनाहरूको श्राप लाग्छ !

र,
प्रेम गरिरहनु छ- चुपचाप, परैबाट
किनकि
यौटा पुरुष प्रेम देखाउन भन्दा पनि निभाउन जरुरी ठान्छ !

गरिरहनु छ प्रेम- एकोहोरो, एकोहोरो

किनकि
प्रेम मनोभाव न हो,
जरुरी छ र दुबैतिरबाट हुनुपर्छ ?

गिड्गिडाउनु छ एकदिन,
जानेहरू
फर्किन्छन् भन्ने अभिलाषाले नै हो,
-बस्नेहरूले गुँड सारेका छैनन्
-झ्यालका पर्दाहरू फेरेका छैनन्

जानेहरूलाई मनपर्ने भएरै हो,
-आँगन छेवैमा फुलेको सेतो गुलाफ उस्तै छ !

किनकि
बस्नेहरूले ऐलेसम्म जानेहरू फर्किने आशा त्यागेका छैनन् !
रैपनि, जानेहरूलाई बिन्ती
अब नफर्किदिनु !