ऊ महामहिमसँगै उभिएको छ
पर्खाल र रक्षक झैँ
ऊ एउटा झोला लिएर उभिएको छ
कसिलो गरी समाएको छ झोला मानौँ
उसको महामहिमको प्राण त्यही झोलामा अडेको छ
के छ त्यो झोलाभित्र ?
कम्युनिस्ट मेनिफेस्टो
कार्ल, लेलिन अनि माओका सिद्धान्त समाजवादको सपना
बीपी, गणेशमान र किसुनका सपना र आदर्श
सहितको सपना
देशको सपना अनि भविष्य
पुर्खाको इतिहास र बलिदान
धर्म‑संस्कृति र सहअस्तित्व अनि भाइचारा
तर
महामहिमको कडा उर्दी छ उसलाई
उसले त्यो झोला खोल्नु हुन्न र हेर्नुहुन्न भित्रको वस्तु
महामहिमको कडा उर्दीसँगै उसले त्यहीँभित्र बन्द गर्यो आफ्नो
विचार
धारणा
अस्तित्व
र चेतना
महामहिमसँगै जिन्दावाद भन्छ
महामहिमसँगै मुर्दावाद भन्छ
धारे हात लगाउँछ
बोलीमा बोली मिसाउँछ कुटिल मुस्कुराउँछ
बिस्तारै कायाकल्पित हुँदैछ ऊ

बन्दै छ महामहिमको सच्चा कार्यकर्ता र उत्तराधिकारी
ऊ बस यस्तै छ
महामहिमसँगै एउटा झोला कसिलो गरी लिएर उभिएको छ ।

बर्दिया, मानपुर