रजनी ढकाल

सारीकै फेरबाट खसेर

सारीकै आँचलमा हुर्केर
दम्भ र अभिमानको टोपी मिलाउँदै
कुशासनको कोट भिरेर
रुढ सत्ता कुर्लिन्छ
‘सारी लगाउँदैमा पढाउन आउँछ?’
तिमीझैँ कक्षाकोठाभित्र
दमनको पदचाप पड्काउँदै
अहङ्कारको औँलो ठड्याउँदै
वैयक्तिक रिसरागका पागलपन गाउँदैनौँ हामी
वर्चस्वको हतियारले काट्दैनौँ
विद्यार्थीका सिर्जनशीलता
भाषणमा बाल्दैनौँ हीनताको क्रोधाग्नि
हामी त बजाइरहन्छौँ
कर्मको सङ्गीत र चेतनाको महागान
अनि घन्काइरहन्छौँ ज्ञानको सारेगम
हो, महोदय
मजाले आउँछ हामीलाई
सारी लगाएरै पढाउन
सारी लगाएरै गाडी चलाउन
साइकल, स्कुटी र बाइक गुडाउन
अनि सारी लगाएरै प्लेन र हेली उडाउन
सारी लगाएरै प्रेम गर्न अनि सारी लगाएर नेतृत्व गर्न
सारी लगाएर रणभूमिमा उभिएका हौँ
सारी लगाएरै उच्च शिक्षा लिएका हौँ
सारी लगाएरै नासाको वैज्ञानिक पनि बनेका हौँ
मेरो शरीर मेरो चयन
मेरो पहिरन मेरै पहिचान
होसियार महोदय
नगर अभिमान
हामी सारी लगाएरै
लगाउन सक्छौँ तिमीलाई ठेगान !
नेपाली केन्द्रीय विभाग, त्रिवि
कीर्तिपुर