प्रिय घाम
आज तिमी किन उदाएनौ
बादलले छेक्यो कि
आँधीहुरीले रोक्यो कि
पहाडले तान्यो कि
कि अन्यत्रैको भूगोलमा रमायौ
कि बिरामी प-यौ
कि उदाउन मन लागेन
के भयो भन न
ए, प्रिय

बिहानै तिम्रो किरण
मेरो मोबाइलमा परेपछि उठ्ने बानी परेछ
आज न तिम्रो किरण प-यो
न मेरो निद्रा खुल्यो
घडीले निद्रामै १३ बजाएछ
रुममेटले बाँसुर बजाएछ
साथीले ढोकाको बेल बजाएछ
कम्पनीको गाडीले हर्न बजाएछ
कुकरले सिठ्ठी बजाएछ
तर मेरो निद्रा खुलेनछ
किनकि तिम्रो किरण परेनछ

प्रकृतिका सबै–सबै रङ
तिम्रै प्रकाशले रङ्गीन भएका रहेछन्
तिम्रो अनुपस्थितिमा सबैको रङ
कालो भएछ
अँध्यारो भएछ
नीलो आकाश कालो भएछ
कहीँ केही नचिन्ने नचिनिने भएछ
हिजो मेरो प्यारो मान्छे भन्ने
आदरणीय अग्रजहरू, अनुजहरूको पनि
तन मन कालो भएछ
गाउँ अँध्यारो, देशै अँध्यारो
सब्बै अँध्यारो भए पनि
जूनकीरी बाँकी छ सोचिरहेथेँ
खै, त्यो पनि आज कहाँ गएछ ?

आँखैले काम नगर्ने भएपछि
छाम्छाम् छुम्छुम् गर्दै हिँड्दै थिएँ
बाटोमा छिमेकीले काँडा फालेछ
खुट्टाभरि बिझ्यो प्रिय
अहिले त जहाँ टेक्यो
त्यहीँ बिझाउने भएछ
सडकमा सबै दलदल भएछ
खै कति बेला भासिन्छ
मृत्यू त पलपल भएछ ।