बाख्रा, सिंह, ब्वाँसो, भँगेरा जस्ता व्यञ्जन वर्णहरू भएका
ढुङ्गा, सुकेको पात, खरानी जस्ता स्वर वर्णहरू भएका
ईर्ष्या, आशा, खुसी जस्ता अल्पविरामहरू भएका
रुख, लहरा, पराल, रौँ जस्ता इकारहरू भएका
घर, मन्दिर, विद्यालय, पुस्तकालय जस्ता ओकारहरू भएका
समय र स्थान जस्ता विस्मयादिबोधक चिह्नहरू भएका

आँखा, हात, खुट्टा जस्ता भाववाचक शब्दहरू भएका
लेख्दा बाघ हुने तर बोल्दा जिराफ हुने शब्दहरू भएका
सोच्दा पहाड हुने तर हेर्दा नदी हुने शब्दहरू भएका
छुँदा लिची हुने तर चाख्दा आकाश हुने शब्दहरू भएका
हिजो छुँदा दुबो हुने तर आज छुँदा फलाम हुने शब्दहरू भएका
सुन्दा फूल हुने तर टिप्दा चरा हुने शब्दहरू भएका

दुःख, युद्ध, क्रोध जस्ता निपातहरू भएका
उत्साह, माछा, बाढी, वर्षा जस्ता क्रियापदहरू भएका
खुर्पा, इतिहास, घट्ट जस्ता क्रियाविशेषणहरू भएका
दुम्सी, समाज, नङ, पखेटा जस्ता विशेषणहरू भएका
फल, रानी, गोरेटो, चङ्गा जस्ता सर्वनामहरू भएका
सभ्यता, फटेङ्ग्रा, समुद्र, परिवर्तन जस्ता संयोजकहरू भएका
दुरूह भाषामा
पृथ्वीले लेखिरहेको
अति लामो एउटा दुरूह वाक्य
आफैँले बुझ्न कठिन हुन थालेपछि
पृथ्वीले
त्यसको अन्त्यमा
तिम्रो देहको पूर्णविराम राखिदिएको छ ।