बाख्रा गोठालो

हेम अधिकारी

छन्द:मन्दाक्रान्ता
गण:म भ न त त गुरु गुरु
विश्राम :चार र दस अक्षरमा

हेम अधिकारी

डाँडा पाखा रनवन डुली हेर्छु बाख्रा रमाइ
हाँगा हाँगा सबतिर पुगी घाँस झार्दैछु भाइ
पाखा भित्ता वनतिर कुदी चर्दछन् माउ पाठा
पानी पर्दा छिटफुट कतै छाड्न मान्दैन गोठ ।

राम्रा राम्रा असल गतिला पाल्छु बाख्रा मजाले
पाठा उफ्री वन पवनमा नाँच्दछन् क्या मजाले
घोर्ले मोटा लरक कदका क्या खसी लर्किएका !
काली घोर्ली पनि चउरमा मस्तले खर्किएका ।

लामो लर्को लररर अहा! हूल बाँधी हिँडेको
यो गोठालो अघि पछि भए म्याँ गरी खोजिएको
पस्छन् आयो चरन सहजै झाङ मान्छन् पियारो
गोठालो हूँ रनवन घुमी काम बाख्रा धरालो ।

आफ्नै पाखो गिरि पवनले फूल वास्ना सँगाल्यो
यै पाखामा प्रमुदित छु है नित्य बाख्रा रुँगालो
राम्रा राम्रा मजबुत खसी पार्नु नै मुख्य काम
बेच्दा साच्चै गजबसितले आउने गर्छ दाम ।

गोठालो हूँ डर पनि कतै छैन आनन्दमा छु
बाख्रा पाली घर पनि मजा साथ धान्दै रहेछु
चिन्ता केही रतिभर कुनै छैन आशा कसैको
नेपाली हूँ गिरि सुत सधैँ ठान्छु राम्रो सबैको।

थाक्कल् काटी सपसप सधैँ खोर यो छाउँदैछु
भाटा फोरी गजबसँगले बार यो लाउँदैछु
बर्कौँला ती छररर छरी उर्वरा पार्छु बारी
तोरी फुल्ला झलमल सुनै पोखिए तुल्य पारी ।

 

देशको हार

रमा खतिवडा

छन्द : स्रग्विणी
गण : र र र र
विश्राम:तीन र छ अक्षरमा

रमा खतिवडा

देश बेहाल भो दुष्टको खेलले
देश कंगाल भो जालले झेलले
बाँच्नुपर्ने भयो त्रास नै त्रासमा
शान्तिको हार भो बुद्धको देशमा ।

एकता छैन झन् भागबन्डा भयो
स्वार्थको खेलले देश नै टुक्रियो
द्वन्द्व नै द्वन्द्व छन् भित्र आफन्तमा
देश जल्दै गयो द्वन्द्वको रापमा ।

टन्न छन् मस्त छन् देश लुट्नेहरू
भोकभोकै भए खेत जोत्नेहरू
काम छैनन् कुरामात्र हुन्छन् ठुला
देश खाली भयो बेचिँदैछन् युवा ।

गर्न सक्नेहरू देश छोड्दै गए
वृद्ध बालाहरू मात्र बाँकी भए
पाप बढ्दै गए रोकिँदैनन् यहाँ
देश फस्दै गयो दुष्टको जालमा ।

माग मात्रै बढ्यो छैन उत्पादन
कर्म गर्ने दुखी छन् यहाँ झन् मन
देशको निम्ति नै भार भो पद्धति
देशको हारको देखियो दुर्गति ।

पोखरा

प्रेमको वर्षा

मोहनकुमार दाहाल

छन्द: इन्द्रवज्रा
गणः त त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

मोहनकुमार दाहाल

हावा र गर्मीसित राप पोखी
सारा समुद्रसित वाफ बोकी
संसारमा मेघ वर्षा खसाली
देखिन्न है सागर आज खाली ।

सुक्दैन है सागर मेघबाट
टुक्रिन्न धर्ती पनि भेकबाट
टुक्रिन्छ यौटै मनको तरेली
छल्केर झर्छन् मुटुका परेली।

बाँधेर राखे मनको सिमाना
छुट्टिन्छ देशै र लिदै रमाना
भाषा अलग्गै पनबाट बोल्छ
आशा विछट्टै मनबाट बोल्छ ।

आमा र बाबूपनि अंशवण्डा
लाग्दा रहेछन् भइ खण्ड खण्ड
धर्किन्छ छाती जब आँतदेखि
छल्किन्छ पीडापनि भित्रदेखि

न्यानो र मीठो जति हुन्छ माया
जोडेर यौटै तब हुन्छ काया
रित्तिन्छ माया जव चित्तबाट
खोसिन्छ चल्लापनि चीलबाट ।

दाङ