अमर सपुतको पथमा
जनजनमा विश्वास जगाउन
नयाँ जोश भर्न
नयाँ बिहानी पहरमा
नयाँ ज्योति बाल्न आऊ
युगौंदेखि टुटेका सपना जोड्न
उदासी अनुहारमा मुस्कान भर्न
छरपस्ट स्वर एकत्रित गर्न
नूतन वीणावादक भै आऊ
ओइलाएकालाई ज्यान दिन
आमाको मुहार हँसिलो बनाउन
निराशामा आशा भर्न
मङ्गल धुन सगुणी बन्दै
उठ हे कर्मठ वीर हो
देशको माटो हातमा उठाऊ
कसम खाऊ देशको मुहार फेर्न
अकर्मण्यतालाई कर्ममा बदल्न
बेथितिमा थिति बसाल्न
नवयुगको आह्वान गर्न
विदेशी मोह त्याग्नै पर्छ
नयाँ बिहानी ल्याउनै पर्छ
आतङ्क फैलाउने अपराधीहरू
भ्रष्टाचारी अभियन्ताहरू
कुशासनका निशाचरहरू
को को हुन् ? खोज्नै पर्छ
अब यिनलाई खेद्नै पर्छ
शासन व्यवस्था सबल बनाउन
युवा राष्ट्रिय गहना साबित गर्न
कर्णधार उन्नतिका नायक बन्न
उत्साहको परिचय दिन
राष्ट्रका अमूल्य निधि बन्न
परिवर्तनका संवाहक हो
विकासका उत्प्रेरक हो
संगठित शक्तिशाली भै आऊ
विश्वासिलो भरपर्दो भै आऊ
क्रियाशील लगनशील भएर
अनुशासित उद्यमशील भएर
उत्दपादन गर्ने अठोटले
क्षमताको पथप्रदर्शक भै आऊ
अबको युग तिम्रै हो
अब नेतृत्व तिम्रै हो
पूर्वाग्रह छाडी चेतना जगाउँदै
पुस्ताको अनुभव बटुल्दै
विधिको शासन स्थापित गर्न
आधारभूत आवश्यकताको सुरक्षा गर्न
रोजगारी सिर्जनामा कम्मर कस्न आऊ
समृद्ध, प्रगतिशील, समतामूलक राष्ट्रको
अभिभारा पूरा गर्न बलिदान हुन् आऊ ।
महालक्ष्मी-०१, इमाडोल
ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।