घरबाट डेरामा पठाएको पैसा
ऊबेला त महिनाभरि पुग्थ्यो
तर आजकल बीस दिन पनि
पुग्न छाडेको छ
किन होला ?
दैनिक क्याम्पसमा टिफिन समयका लागि
बीस रुपैँयाले पुग्थ्यो
त्यो पनि कमी हुन थालेको छ मलाई
धेरै भोक पो लाग्न थाल्यो कि
धेरै खान पो थालियो कि
सोचिरहेछु

पहिले म एक्लै थिएँ
मेरा साथीहरू दिनदिनै
थपिइरहेका छन्
मेरो व्यवहार देखेर हो कि
समयको मागलाई सम्बोधन गरेर
छुट्टिनै मन लाग्दैन
किन यस्तो हुँदैछ ?

घरबाट आमा बुबाको
फोन आएन भने
एकदिन पनि हजारौँ वर्षझैँ लाग्थ्यो
म आफैँ फोन गर्थें
पैसा नचाहेसम्म
मलाई घर परिवारको
सम्झना पनि आउन छाडिसक्यो
किन होला ?

क्याम्पस जान र पढ्न मन नलागेको
पनि धेरै भयो मलाई साँझ परेपछि
कोठामा बस्न पटक्कै मनै लाग्दैन
म डराएर होला साथीसँग
जान मन लागिहाल्छ
सायद बजारको बीचमा मेरो
कोठा भएर होला ?

आज भोलि म धेरै
दुब्लिँदै गएकी छु
पहिले घरबाट आमाले पठाएको
गुन्द्रुक दैनिक मेरो तरकारी थियो
आजभोलि साथीले दिएका
एक मुठ्ठी गुन्द्रुकले मेरो पेट भरिरहेकी छु
त्यो चौरासी व्यञ्जन खानेकुराको
भोक लाग्न छाडिसकेको छ
सायद उमेर र जिम्मेवारी बढेसँगै
इच्छा चाहनाहरू घटेका हुन सक्छन्

शनिबार बिदाको समयमा
म घर जान मन लगिहाल्थ्यो
आजभोलि कहिले बिदा कहिले छुट्टी
क्याम्पस नगएसि केही
पत्तो हुन छाडेको छ
बरु,
कुनै दिन कुन जंगलको
ओडारमा जाने र त्यो गुन्द्रुक
र ती परिकार
लुकाई लुकाई खाने मज्जाले थाहा छ
कति प्यारा लाग्छन् ती साथीहरू
अनि त्यो गुन्द्रुक !

आमाले मायालु स्वरमा
बोलाएका ती शब्दहरू
मानसपटलमा गुञ्जिरहन्छन्
घुमिरहन्छन् पृथ्वीले सूर्यको परिक्रमा गरेझैँ
दिमागको वरिपरि
झस्काइरहन्छन् यो मनलाई
सोच्न बाध्य बनाउँछन् भविष्यप्रति
कतै गुन्द्रुकको जोहो गर्न समेत मुस्किल त पर्ने होइन ?