देश फर्किन पनि डरलाग्दो बनाइँदै छ रे !
हामी प्रवाशीलाई बिर्सने बाटोमा
राजनीति र देश
शक्तिशाली खेलाडीलाई बेचिदै छ रे !

चेस पनि रोबोटले खेल्ने हाम्रो देशमा
राजनीतिको नियम सबै आयातित
आदेश आयातित, आदेशबाट चल्ने गोली
अनि कसरी देशलाई बचाउन सक्नु
एआईले लेखिदिएको नियम देखाएर
यो नेपालमा आफ्नैले पारेको समस्या हो
नेताले जानाजान निम्त्याएको अवस्था हो

मुलुकको असहजतामा रमिते बन्नु हुँदैनथ्यो म
यी सबै कुरा आफ्नालाई भन्नु पर्थ्यो
सबै धोकाघडीको पोल खोल्नु पर्थ्यो
म त्यहिँ बसेर देशघातीको निन्दा गर्नु पर्थ्यो
संकटमा म फर्कनु पर्थ्यो आफ्नो मातृ देश

म मुलुक फर्कन अझै आनाकानी गर्दै छु
मैले मर्ने दिन पछि सार्न सक्दिनँ तर
फर्कने दिन पछि पछि सार्दै छु
आफैँलाई अरुको अधिनमा सुम्पन
आफ्नो थप आयुको माग पत्रमा
पशुपति पुगेर अझै हस्ताक्षर माग्दै हुन्छु

मलाई नराम्रो लाग्छ विदेश उड्दा
प्रवाशी दिन बढाएर आशीष माग्दा
श्रम गर्न क्षितिज बाहिर पस्दा
अरुको लागि श्रम सीप पोख्दा
भौतारिँदा लाज लाग्छ प्रवाशमा
चर्पीहरूको कटकट नङले उक्काएर
थैलोमा खसाली लुर्खुराउँदा भक्कानिन्छ मन
तर मन मारेर
जीवनदेखि हारेर
शिवलिङ्ग झैँ
स्वाभिमान पखालेर
गुन्द्रुक झैँ
जीवन मूल्य सुकाएर
विवश छु यो सब गर्न

यी योजना मेरा हैनन्
पैतालाले नापेको भूमि
प्रवाशी साहुको बार्दली तलको बाटो
बारीको पाटो र बाबरीको नर्सरी
केही पनि मेरो हैन त्यो
विदेशीले दिएको अनुमति पुर्जा
विदेशी मूलको निचोरिने पहिचान
अधिनस्त स्वीकारेको हस्ताक्षर
देश त्यागेको स्वीकारोक्ति
कीमार्थ सत्य हुन्
मैले देशलाई दिएको वचन
मैले मेरा कुल, मेरो गाउँ
मेरा गुरुहरूलाई दिएको प्रतिज्ञाबाट
म आफैँले आफूलाई दोषमुक्त गर्दै
भागेर पुगेको देश
केही पनि मेरा हैनन् र हुन सक्दैनन्

‘साथी, म नाम लिन्नँ अब पराइ मुलुकको
खान्नँ अब विदेशीको जागिर
आमालाई दिएको वचन टोकेर
खाएको खाजा नास्ता
आजैका दिनले त्यागिदिन्छु र मेरो देवभूमि फर्कन्छु
यत्ति भन्न नसक्ने मेरो मुख
आवाज निकाल्न नसक्ने मेरो गला
हिम्मत निकाल्न नसक्ने मेरो वय
वयभरि छिर्किरहेको पानीतुल्य रगत
स्वाभिमान र,
मेरो विदेशीको कृर्तार्थ बाँचेको लाश शरीर
सबै सबै भर्सेलोमा परून्
आमाको श्रापले डामिएको नराधम म
लाज र घृणाको विष फैलिएर शरीरभरि
मुलुक फर्किन नसक्ने तनावले
छटपटाई सकस दिएर आफैँलाई
सन्तापले कुटिएर मरुँ
विकल्प के छ र अरु ?