आमा मलाई नबिउँझाउनु ल
म शीत निद्रामा जान चाहन्छु

किन छोरा ?
तैँले देशको माटो खन्नु छ
असल र ठूलो मान्छे बन्नु छ

होइन आमा,
मेरो देशमा घुम्ने मेचमा अन्धो मानिस बसेको छ
जसलाई उपचार नहुन्जेल मलाई निदाउन दिनुस्

हुन्न बा तिमी उठ्नु पर्छ
देशको मुहार फेर्न जुट्नु पर्छ

आमा त्यो शेरचनको चोकमा भएको
‘भोक, राग हराएर
हर्षको’ आगमन भएपछि मलाई बिउँझाउनु है !

‘देउताले बनाएका मान्छे
र मान्छेले बनाएका देउता उदास’ हुन छोडेपछि जगाउनू
आमा मलाई रिमालको ‘आमाको सपना’
विपना भएपछि जगाउनु

हुन्न बा भूपीको चोकमा खुसी आउन रोक्ने
हरेक तगाराहरू पन्छाउनु छ
‘देउताले बनाएका मान्छे
र मान्छेले बनाएका देउता’,
दुवै हँसाउनु छ तिमीले
धृतराष्ट्रहरुको सत्ता बहिर्गमनमा
उत्सव मनाउनु छ तिमीले
रिमालको आमाको सपनामा
आउने ‘बिहानको सूर्य’ समान तेज बोकी
‘कम्मरमा शीतजस्तै टल्कने हतियारधारी योद्धा
तिम्रै अनुहारको थियो
अब तिमीले ‘हिउँ र आगो’ जत्तिकै छोइने हुनुपर्छ
विदेशमा श्रम गर्ने देवकोटाका ‘मदनहरूको’
पसिनाको खोलोको बाँध यतै बनाउनु पर्छ
मदन सम्झेर त्रिशूली बगाउने ‘मुनाहरूलाई’
अबको युगमा पनि मर्न दिनु हुँदैन
बाँझा बारीमा कोदो र फापर अनि
खेतका गराहरूको धानको बाला झुलाउन
बुढा बाआमाका मुहारमा मुस्कानका फूल फुलाउन
तिमीले जाग्नै पर्छ छोरा, जाग्नै पर्छ
जालीहरूले देशलाई प्रपञ्च गरे
साधुको भेष धारण गरी जालझेल गरे
चोरको हातमा दिएको साँचो फिर्ता गर्न
तिमीले अब जाग्नु पर्छ।

सिन्धुली