म ‘इमान्दार हूँ म’ भन्ने म
सत्यनिष्ठा, भ्रष्टचार विरोधी, निस्वार्थी
जनपक्षी, परोपकारी, सिद्धान्तवादी
आदर्शवान्, कर्तत्वपरायण, स्वाभिमानी देशसेवी
भन्ने म
सेतो वस्त्रमा छ्यापेको हिलो जस्तै भएछु
भएछु सबैको तिरस्कृत पात्र

अपनाउन सक्दिनथेँ यदि सत्मार्ग भने
बन्न सक्तिनथेँ यदि सैद्धान्तिक व्यक्ति भने
किन आदर्शवादी भएर
मार्ग देखाएको अरूलाई ?
किन चोर, गुण्डा, अपराधी, भ्रष्टाचारी भनेको होला ?
किन सत्य-असत्य, हिंसा-अहिंसाको कुरा गरेको होला ?
किन नेतृत्व सम्हालेको मैले सत्यको झण्डा पक्डेर ?
यदि धोका नै दिनु थियो भने !

साँच्चै नै म त्यो जल हुन सकिनँ
प्यासीको प्यास बुझाउने
म त त्यो हलाहल हुन पुगेछु
सत्यवादीलाई मार्ने
र अमृत बनेछु म
हिंस्रक, कामचोर, दुष्टलाई मलजल गर्ने

हिजो कुरा गर्थेँ म
चट्टान फोडेर मणि निकाल्ने
उत्साह दिन्थेँ म
सागरमा डुबेर मोती प्राप्त गर्ने
कंटकाकीर्ण मार्गमा हिँडेर
शिखरमा पुग्ने
स्ववस्त्र उतारेर
भिखारीलाई दिने
रक्तदान गरेर
परजीवन बचाउने
आवश्यक परे देशका निम्ति
आफूलाई समर्पण गर्ने
यदि धमिलो पानी भएरै बग्नु थियो भने
किन कुरा गरेको होला मैले गंगा नदी भएर बग्ने ?

म सामान्य जनतासामु
आदर्शवादी, सिद्धान्तवादी, कर्तव्यपरायण, स्वाभिमानी
भएर हिँडिरहेँ महानताको उपाधिका लागि
तर आज सबैलाई थाहा भयो
मेरो नियतका बारेमा
जनता आज विरोध गर्न थालेका छन्
आफूहरू मेरो मिठो बोलीमा भुलेकोमा

के भनिनँ होला र मैले समाजसामु-
‘भेदभाव र असमानता विरुद्ध
मेरो छाति गोली खान तयार छ
गरिबी उत्थानका लागि
यो ज्यान मर्न तयार छ… ’

आम जनताले मेरो असलियतलाई
बुझ्न थालेका छन्
त्यही भएर होला उनीहरू भन्न थालेका छन् –
‘तिमी निर्दयी हौ, तिमी ढोँगी हौ, तिमी हत्यारा हौ
तिमी खून चुस्ने जुका हौ… ’

हिजो मेरा खुट्टा ढोग्नेहरू आज
ममाथि ढुङ्गा हान्न थालेका छन्
हिजो मलाई माला लगाइदिनेहरू आज
मलाई थप्पड कस्न तम्सेका छन्

अब फेरि म जनतालाई भेडाबाख्रा पनि बनाउन सक्दिनँ
उनीहरूले मेरा कर्तुतलाई थाहा पाइसकेका छन्
मेराविरुद्ध प्रमाण जुटाई सकेका छन्
अब मसँग पश्चाताप गर्नुबाहेक अरू कुनै विकल्प छैन
पश्चाताप गर्नुबाहेक अरू कुनै विकल्प छैन ।