देशको लागि त एउटा बेरोजगार घट्यो
नेतालाई गाली गर्ने स्वर मेटियो
अधिकारका लागि उठ्ने आवाजको
कोपिला चुँडियो
प्रतिस्पर्धीका लागि एउटा
कोटा खाली भयो
ऊ ढल्यो
सुन्दर सपनाको खोजीमा
देशमा भविष्य नदेखेर
विदेशिने सपनाको रोजीमा
बाआमाको आशाको त्यान्द्रो च्यात्तियो
भाइहरूको रङ्गीन सपना मधुर भयो
दिदीबहिनीको माइती रित्तियो
सँगै जीवन बिताउँला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो
घरको जग भाँचियो
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो
वर्षौंसम्मको खुसी रोकियो
जनयुद्ध गरेर देश परिवर्तन गर्छु भन्ने धाक त दिए
रोजगार दिन सक्ने हिम्मत छैन
स्वदेशमै केही गरेर
जीविका गर्ने अवस्था त बनाएनन्
विदेश जान देऊ न जान्छु भन्दा
छातीमा गोली चल्यो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 








