हिराकै श्रीपेच लगाएर
हाँसी हाँसी बाँचेको छ हिमाल
जसरी हाँस्छ
कोक्रोबाट नवजात शिशु आमाको आगमनमा
नियमित आकस्मिकतालाई बिर्सेर
म कसरी भनौँ शिशिरलाई बदमास ?
हरेक गृष्ममा उसैले हो धरतीलाई ममताले सिञ्चन गर्ने

हरेक वर्ष शिशिरको गाउँबाट मैले नियालेकी छु
त्यही डाँडापारिको वरपिपल अनि काभ्रोलाई
नाङ्गै, ठिङ्ग्रिङ्ग उभिएको देख्छु
र मनमनै काँपिरहन्छु
जसरी काम्छिन् तुषारोले बुढीआमा झुपडीमा
खङ्ग्रङ्ग दुब्लाउँदै गएका बाका दाह्री र जिङ्ग्रिङ्ग कपाल जस्तै अस्तव्यस्त हुन्छन् पहाड र थुम्काहरू
तैपनि आशा न हो परिवर्तनको
वसन्तको बाटो हेरिरहन्छन् परदेशी छोरो कुरे झैँ
पृथ्वीभरि शिशिरै शिशिर खसे पनि
वसन्तले पालुवाको बाटो कहाँ बिर्सन्छ र ?

छोरो फर्किने आशामा
हरेक बिहान मुस्कुराएकी आमाजस्तै
मुस्कुराउँछ वसन्त
तिनै वर पिपल, काभ्रो र आरुहरूमा
लालीगुराँस अनि बुकी फुल्ने वनहरूमा
प्रकृति फेरि मुस्कुराउँछ
झपक्क बैंसमा फुलेकी शिरीष जसरी

हो मैले देखेकी छु, शिरीषको सर्वाङ्ग नाङ्गो शरीर अनि लजाएकी छु आफैँसँग
ऐनामा उभिएकी म आफ्नै प्रतिबिम्ब सम्झी
वसन्त नै त हो सबैलाई सौन्दर्य छरेर रमाउने
म लजाएर शिरीषको लाज छोपिदिन
जब आफ्नै रातो खास्टो उठाउँछु
ऊ मुस्कुराउँछे बैंशले लठ्ठै भएर
म आश्चर्यचकित हुन्छु र उसलाई हेरिरहन्छु
ऊ मलाई गिज्याएर खित्का छोड्छे

लालुपाते वनै ढकमक्क बनाएर
पहाडको गुराँससँग मितेरी लगाउँछ टाडैबाट
वनकुसुमका लामा लामा हात जस्ता हाँगाहरू स्वागत गर्दै उभिएका हुन्छन् वनैभरि
कहाँ छ र उजाड यो धरा !

यो प्रक्रिया न हो
अनेक ऋतु नाघेर उक्लिएको अपरिमित खुसीको
अन्त्य कहाँ हुँदोरहेछ र ?
बरु स-साना टुक्रा जोडेर प्रकृतिमा
खुसीको एउटा ब्रह्माण्ड बन्दोरहेछ
यस्तो लाग्छ मलाई
यस्तो लाग्छ मलाई
खसमले परदेशबाट ल्याइदिएको पछ्यौरा जस्तै
असाध्यै सुन्दर र प्रिय वसन्तले भरिएको हुन्छ प्रकृति

पसिनाका थोपा थोपा गनेर पनि
छोरालाई एक छाक खुवाउन नपाएको
मजदुरको हृदय जस्तो वेदनामा डुबेको छ समय फेरि
पटपट फुटेका आमाका गोडा जस्ता गृष्मका जमिनहरू
देखेर यस्तो लाग्छ
वर्षालाई सुटुक्क भगाएर ल्याउन पाए गृष्मको जीवन कति आनन्ददायी हुन्थ्यो होला
सुकेरै प्राण धान्न धौ धौ गरिरहेको सारा प्राणी
ढलकढलक वर्षाको सवारीले नवदुलाहाले दुलहीलाई पर्खिरहँदा दुलहीको आगमन भए जस्तो
शोभायमान हुन्छ आँगन
वर्षा नहुँदो हो त यो सारा संसार
नवजात शिशुले स्तनपान गर्न नपाएर मृत्युलाई वरण गरे झैँ हुँदो हो

ऊर्जावान् वर्षाले मृतिकालाई हराभरा बनाउँदा
रोविलो, ठाँटिलो दुलाहा झैँ शरद उक्लिन्छ र सजिन्छ
स्वयम्बर कक्ष
जसरी सजिएकी छिन्
हरित भएर धरती

उही प्रक्रिया
फेरि ङिच्च दाँत देखाएर शिशिर उभिन्छ छानामाथि तुषारो बोकेर
अनि सबैलाई नङ्ग्याएर नाँचिरहन्छ ताण्डव नृत्य
तैपनि
तैपनि
पृथ्वीभरि शिशिरै शिशिर झरे पनि
वसन्तले कहाँ बिर्सन्छ र पालुवाको बाटो ?
बरु मानिसले बिर्सियो यो सुन्दर प्रकृति ऊ आफैँ
नासिरहेछ आफ्नै माटो।