सिर्जनाका बिउ रोप्ने यिनै हाम्रा हात हुन्
काट्ने, छाँट्ने हुर्काउने यिनै हाम्रा हात हुन्
नौला नौला रुप तिनका पार्ने यिनै हात हुन्
थोरे थोरै गर्दै धेरै पार्ने यिनै हात हुन् ।१।
कलम बोकी अक्षर लेख्ने यिनै हाम्रा हात हुन्
लेख्दै मेट्दै गर्दै सिक्ने यिनै हाम्रा हात हुन् ।
पुस्तक खोल्ने ज्ञान भर्ने यिनै हाम्रा हात हुन्
संसारभरि ज्ञानको ज्योति छर्ने यिनै हात हुन् ।२।
समाई समाई साथीसँगी जोड्ने यिनै हात हुन्
रमाई रमाई खेल खेल्ने यिनै हाम्रा हात हुन् ।
चोट लाग्दा मह्लम दल्ने आँसु पुछ्ने हात हुन्
लड्न खोज्दा सम्हालेर थाम्ने यिनै हात हुन् ।३।
सानालाई माया गर्ने मुसार्ने यी हात हुन्
ठुलालाई नमन गर्दै संस्कार सिक्ने हात हुन् ।
गरिब दु:खी असहायको सेवा गर्ने हात हुन्
आपत् विपद् पर्दा सबलाई साथ दिने हात हुन् ।४।
जिन्दगीको भाग्यरेखा कोर्ने यिनै हात हुन्
पाइला टेक्दै हिँड्ने बाटो खन्ने यिनै हात हुन् ।
शिखर चुम्दै गन्तव्यमा झण्डा गाड्ने हात हुन्
पौरख गर्दै कीर्ति राख्ने यिनै हाम्रा हात हुन् ।५।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।