जबदेखि
गजलको रथ कस्तो हुन्छ भनेर थाहा पाएँ
छोडिदिएँ चढ्न गजलको रथ !

जबदेखि
कविताको महल कस्तो हुन्छ भनेर थाहा पाएँ
त्यागिदिएँ कविताको महललाई !

जबदेखि
कथाको खर्पन कस्तो हुन्छ भनेर थाहा पाएँ
भाँचकुँच पारेर फालिदिएँ कथाको खर्पनलाई !

जबदेखि
उपन्यासको पर्खाल कस्तो हुन्छ भनेर थाहा पाएँ
जताततैबाट प्रहार गरेर
गर्ल्यामगुर्लुम ढालें
उपन्यासको पर्खाललाई !

जबदेखि मुक्तकको छडी कस्तो हुन्छ भनेर थाहा पाएँ
टाढा टाढा पुग्ने गरी
मिल्काइदिएँ मुक्तकको छडीलाई पनि !

अचेल म मुक्त छु
यी गजल, कविता, कथा, उपन्यास र मुक्तकबाट !

अचेल त केवल गनगन लेख्छु
अचेल त केवल गाली लेख्छु
अचेल त केवल मनका गथासा लेख्छु
अचेल त मनका कुण्ठा लेख्छु !

अनि आत्मरतिको शिखरमा उक्लेर
नियाल्छु अहमताका आँखाले
आफ्नै सिर्जनाका फाँटहरू !
भ्रमका पँखेटाहरू लगाएर
अझै माथि, अझै माथि पुग्छु
झन माथि माथि पुग्छु
र गाउन थाल्छु आफ्नै प्रशंसाको गीत !

वागमती ११, कर्मैया
सर्लाही