बासँगको यात्रामा जिन्दगी र जिम्मेवारीप्रति अबोध थिएँ
जब छोरालाई आफूसँग यात्रामा हिँडाएँ
तब जिन्दगी र जिम्मेवारीका हरेक पृष्ठ एक एक गरेर कुण्ठाग्रस्त भए
मर्नुको मुख्य कारण जन्मिनु हो
तर
मर्नको निम्ति जन्मिनु कदापि होइन
यही मन्त्रलाई मनन गरेर जिन्दगीका अध्याय सुरु गरेँ
पहिलो अध्याय सुरु मात्रै के गरेको थिएँ
जिन्दगीमा कहिल्यै नसोचेको र कहिल्यै नदेखेको आँधी आइदियो
यसका बाबजुद पनि –
“हार खानू तर हरेस कहिल्यै नखानू” भन्ने मूलमन्त्रलाई उच्चारण गरेर
जिन्दगीलाई ठेलिरहेँ
दुई खुड्किला मात्रै के पार गरेको थिएँ
समयको छिनो जिन्दगी र सपनामाथि प्रहार भइदियो
सास र साहस बढाएर समयसँग लडिरहे
समयसँगको लडाइँमा
पछारिएँ, उठेँ, लडेँ
फेरि पछारिएँ
फेरि उठेँ
फेरि लडेँ
अन्तत: समयले खुट्टामा बलियो जन्जिर लगाइदियो
जन्जिरले बाँधिएर निर्विकल्प भएपछि गन्तव्यमा पुग्न खुट्टा काटेको हुँ ।
आदर्श -०३, डोटी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।