सस्तो छ प्यार त्यसैले, महिला हीनमा छन्
पैसामा लाज बेच्नेहरू, सधैँ घिनमा छन् ।

तिम्रा भन्सारमा पिउन छन्, मालामाल छन्
मेरा श्रीमान शिक्षक छन्, सधैँ रिनमा छन् ।

रक्सी, चुरोट, जाँड-रक्सीले घर बिगार्‍यो
पक्कै सुध्रिने छन् नर, नारी यकिनमा छन् ।

संविधानमा ~ नारीका अधिकार भएनि
लालपुर्जा सबै पुरुषको अधीनमा छन् ।
_
पुरुषले ~देश छोडी, विदेश~ गएपछि
नारी जति प्रायः, पर्खाइको तल्लीनमा छन् ।

देवी पन्थी

……………………………………………..

आजको मान्छे भित्र रोएपनि बाहिर हाँस्दै हिँडेको छ
भित्र गलेपनि बाहिर जाली सम्बन्ध गाँस्दै हिँडेको छ

कसैले अर्ती दिए, अर्ती दिनेलाई ठूलो भएको भन्दै
समाजमा आफैँ बुझकी भएको बिल्ला टाँस्दै हिँडेको छ

अलिअलि पैसा भए जान्नेसुन्ने भइहालिन्छ भन्ठानी
अरूभन्दा आफैँ राम्रो भन्दै अरूलाई छाँस्दै हिँडेको छ

अरूले जाती मानुन्, नमानुन् छैन कत्ति पनि वास्ता
कुखुराको भाले जस्तै टोल टोलतिर बाँस्दै हिँडेको छ

राम्रो नराम्रो वास्तै छैन, जहाँ जे भेटिन्छ त्यही खाएर
धमिराले सकेको थाहा नै छैन, ज्यान माँस्दै हिँडेको छ।

ऋषिराम भुसाल
गुल्मी, मदाने
हालः काठमाडौं

……………………………………………..

त्यो तिम्रो माया अति छ हेर घटाउँ कसरी
पोखिन खोज्छ आँखा यो सानो अटाऊँ कसरी

बसेको तिमी यो मुटुभित्र छ घाउ गहिरो
दुख्दछ सधैँ नरोक्की कन खटाउँ कसरी

समय बिति गएता पनि यो मन बुझ्दैन
तस्बिर हेर छ छाति भित्र हटाउँ कसरी

घरमा सबै यादमा मात्रै काट्दैछन् समय
दुःखमा आफैँ सबैमा यही रटाउँ कसरी

छ बाँकी अब तस्बिर मात्रै रहेनौ तिमी त
बर्सिदा आँसु गएर तस्बिर फटाउँ कसरी

सञ्जना शर्मा
लमही, दाङ

……………………………………………..

आखिर याे त समयकाे खेल रहेछ
जीवनमा कहिले नछुट्ने जेल रहेछ

खडेरी लाग्दा समेत कहिल्यै नसुक्ने
आँखाबाट बगिरहने आँसुको भेल रहेछ

समयकाे तिब्र गति सँगसँगै एउटा
छुटेपछि राेक्दै नराेकिने रेल रहेछ

वास्तवमा मिलन र बिछाेड भन्नु नै
परीक्षामा हुने पास र फेल रहेछ

जिन्दगी भनेकाे खासमा भन्नु पर्दा
जीवन र मृत्युकाे तालमेल रहेछ

भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु

……………………………………………..

उत्पात अग्ल यो माथि पाती भेटिन्छ लक्षको
प्रशान्त जलजस्तैमा जाती भेटिन्छ लक्षको!

सङ्कीर्ण स्वार्थ सोचेर जिउँदै मर्नु जीवन
भन्दा मरेर बाँच्नेमा छाती भेटिन्छ लक्षको!

झारझुरे यिनै खाने लाउँनेका गरी कुरा
पशुजीवनको ढाड लाती भेटिन्छ लक्षको!

अर्कामाथि गरी ईर्ष्या बाँच्ने यी धनलोलुप
बुझी सङ्गत नै फाल घाती भेटिन्छ लक्षको!

ओठमा मह मिष्ठान्न भित्र हुन् विषका घडा
टाढा असलले सार्नु काती भेटिन्छ लक्षको!

कलानिधि दाहाल

……………………………………………..

 

कलि युगका छोराछोरी बा आमा कुट्छन्
श्रम शून्य छ खेतबारी विदेशतिर कुद्छन्

कस्तो आयो जमाना खै अर्ती उपदेश दिँदा
गाली अपहेलना गरेको भन्ने कुरा बुझ्छन्

आफ्नो कमाइ एकपैसाको छैन भने पनि
अनिकालको ढिकी जस्तै दिनभर सुत्छन्

सत्यता र वास्तविकता छैन बोलीचाली
जथाभावी जे सुकै बेढङ्ग पाराले भुक्छन्

दशधारा दुध पिलाई हुर्काएका सन्तानले
जबर्जस्ती लखेट्दा वृद्ध आश्रम पुग्छन्

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा, खाँदबारी ३

 

……………………………………………..

 

जवानी हीरा जस्तै झल्किएको रैछ !
कसैको नजर त्यतै पल्किएको रैछ !!

राम्री पनि छिन् भन्ने गर्थे सबै जना,
हो यथार्थमै यौवन छल्किएको रैछ !

सबैको प्रशंसाको मलजलले हो कि,
प्यासी जोबन हलक्क हल्किएको रैछ !

फक्रेको फूल पनि ओइलिएर झर्छ नै,
तर हाल उनको रुप टल्किएको रैछ !

सायद आँखा त्यतै परेछन् सबैको,
कोही भने उनीसँग सल्किएको रैछ

रवि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल: बुटवल, रुपन्देही, नेपाल

……………………………………………..

मन रुन्छ एक्लै हुँदा आँसु झर्छ प्रिय
परिस्थिति खिस्स आशा मर्छ प्रिय।

मुटु छाम्दा ढुक्ढुकीको बेग धेरै बढ्छ
दिन युगौँ लाग्छ घडी पछि सर्छ प्रिय।

मुहार चन्द्रसॅग लुकामारी गर्छु कहिले
मनको घाउ शीतल मेरो आँत भर्छ प्रिय।

कमाउनु रमाउनु जोगाउनु भविष्यलाई
बुढेसकालमा एकै ठाउँ बस्नु पर्छ प्रिय।

सिध्दान्तले जीवन चल्न मुस्किल हुँदोरहेछ
टाढै बसौँ समय मुस्किलको घडी टर्छ प्रिय।

अन्जना न्यौपाने

……………………………………………..

 

घरबारी बगैँचा त्यहीँ त मेराे अाफ्नाे धन थियाे
अागनीमा फुलेकाे काेपिला झैँ फक्रने मन थियाे ।

कति हर्ष उल्लासमय थिए ती दिनहरु सम्झन मन छ
सात समुन्द्र पारी भए पनि सम्झिरहने मेराे तन थियाे ।

पढेर अाफ्नै खुट्टामा उभिन मन लागिरहन्थ्याे मलाई
के गर्नु बुवा अामाले मलाई अन्माउन एउटा जन थियाे ।

अाफ्ना साथीभाइ सबैसँग भेट गर्न सारै रहर लागिरहने
बालापनमा रम्दै खेल्न रमाइलो गर्न हृदयदेखि झन् थियाे ।

रितीरिवाज पनि कस्ताे छाेरी मान्छे अर्काकाे घर जानू पर्ने
सबैकुरा बुझेर नै हाेला केही गर्नुपर्छ भन्ने अाफ्नै पन थियाे ।

भानु पाेखरेल
भद्रपुर -९ झापा

……………………………………………..

 

अकालमा भएको मृत्युले विक्षिप्त बनाउँछ
आँखाबाट आँसु आखिर बर्बरी खनाउँछ।

मनमा हर्ष र उमङ्ग नभएमा आखिर
फूलको बास्ना पनि हेर फोहरझैँ गनाउँछ।

दु:ख पर्दा सहानुभूति अनि सहारा मिले
टाढाको पनि निकटतम आफन्त जनाउँछ।

मृत्यु त मृत्यु नै हो आखिर पीडाको भारी
भन न मृत्युमा कसले उत्सव मनाउँछ।

जन्मसँगै मृत्यु शाश्वत भए पनि लोकमा
आफन्तको मृत्युले सधैँ हृदय हनाउँछ।

तेजप्रसाद खनाल
दाङ

 

……………………………………………..

 

ऊ बेला मेरो, जवानीमा चुनाव भो
आज फेरि पानी, पानीमा चुनाव भो

लेख्न त लेख्थेँ म, कविता पनि उस्तै
तथापि कथा, कहानीमा चुनाव भो

रोज्नु, रोजाइनु, फरक कुरा हेर
ऊ र उस्तै सानी, सानीमा चुनाव भो

मिलाउनु कसरी, प्यारी र प्रेयसी ?
र त यहाँ जानी, जानीमा चुनाव भो

वेगम र हेलेन, दुबै उस्तै उस्तै
त्यसैले त रानी, रानीमा चुनाव भो

नागेन्द्रप्रसाद यादव
दाङ
………………………..

आफूसँगै राखेर आमा बाबु पालेर देखाऔं
थोरै सकिन्छ चेतनाको दियो बालेर देखाऔं ।

के किन घरीघरी उही फाइदाको मात्र गणना
असमानताको घृणित कुकर्म फालेर देखाऔं ।

जहाँ जता हेर्‍यो बारम्बार खुम्च्याउनु पर्ने नाक
अब धेरै ढिला भो फाटेको मन टालेर देखाऔं ।

यति सुन्दर देशलाई के के बनाउने भन्छन् बरै
लौ समग्र कुरीति हटाई सुन झैँ गालेर देखाऔं ।

यही कैयौं छन् प्रतिभा सफा मनले कदर गरौं
तिम्रो हाम्रो नभनी सुन्दर काम थालेर देखाऔं ।

जतापनि आफ्नै मनपरि दोष अरुलाई थोपर्ने
सकारात्मक सोचको दिमाग हालेर देखाऔं ।

प्रेम थापा “मन”
बागलुङ

……………………………………………..

 

जिन्दगी सुबासिलो, फरक जमाना थियो
छेउमा उनी थिइन् यो दिल दिवाना थियो

यादगार छन् अझै पलक मिलनका सबै
जिन्दगी फरक थियो अधर निसाना थियो

घुम थियो, झरी थियो दुई थियौँ खेतमा
ओत लाग्ने मात्र एउटा बहाना थियो

जानुका गुरागाईँ
झापा

 

……………………………………………..

 

घरमा आगो लगाई कोही जागेका छन्
ढिकुटी सकी देशको कोही भागेका छन्

गलत हातमा देश पर्न पनि दिनु हुन्न
सम्पदा देशका सबै मास्न लागेको छन्

न्याय निसाफ भनि सपनाहरु बुन्दै
बाचा बन्धनहरु धेरै टाँगेका छन्

इच्छा रहर खै त कसका पूरा भए
सच्चा मानिसलाई पनि नागेका छन्

चाल्न कदम पनि जनता डर मान्छ
त्यही चालले यिनले देश दागेका छन्

अम्बिका खरेल (उप्रेती)
विराटनगर -१२

……………………………………………..

 

कर्म गरी जिउँनुमा हुने आफ्नै पारा
गरीब दुःखी कन्दमुल खाने सर्वहारा!

अन्न बाली अभावमा नगदेकाे भर
घरघर साटी हिड्ने कस्ताे अभिभारा!

शिक्षा के हाे थाहा छैन पढ्नु लेख्नु भन्छ
खर्कगाेठ चौँरीसँगै बित्याे जुनी सारा!

नेता भन्छ चुनावमा देख्छु अनुहार
भाेट दिनु दाजुभाइ भन्दै लाउँछ नारा!

काम गरी खानु पर्छ पाखुरीकाे भर
दिन रात भन्न नपाई गन्दै जून तारा!

शारदा भण्डारी काफ्ले
विराटनगर
(हालः भोजपुर)

 

……………………………………………..

 

मोती हरायो बालुवामा टुकी बालेर के पायौ ?
अन्त्य नहुने कार्यहरू अब थालेर के पायौ ?

मन भत्काएर जोडेर स्वार्थका देवलहरू
फटायौ आफैँ जता-ततै अनि टालेर के पायौ ?

सुगन्धित फूल भन्यौ, लगायौ र ओइलाएपछि
दुर्गन्धित् भनेर टोकरीमा फालेर के पायौ ?

तिम्रो सामु धेरै साल शीतल दिई उभिएपछि
अजङ्गको बुढो रुख भनेर ढालेर के पायौ ?

हरि पराजुली
दमक, झापा

 

……………………………………………..

 

खाएर रस सबै बाँकी खोइला बनायौ के गर्नु
तापेर आगो छु कालो कोइला बनायौ के गर्नु

गर्न त खुसीको सम्झौता नै गरेका हौ तिमीले
आखिर पुरै जिन्दगी यो रोइला बनायौ के गर्नु

अर्सा बनाउने निहुँमा लगेको महँगो चामलबाट
बासी भातको त्यै नमिठो चोइला बनायौ के गर्नु

जोडी हाँसको सहयात्रा गर्ने झुटो वाचा गरी
जालझेल गरेर मलाई छोइला बनायौ के गर्नु

धान्न कसरी सक्छु एक्लै जिन्दगीको जुवा मैले
मेरुदण्ड भाँचिएको सोइला बनायौ के गर्नु ।

श्रीकृष्ण शर्मा
पोखरा

………………………..

 

रातो गुलाफ बाँड्यौ पासा रहेछ तिम्रो
चारो सबै लपेट्ने खासा रहेछ तिम्रो ।

राम्रा थिए फुलेका ती पुष्प मालतीका
बाटो त्यही हरायो बासा रहेछ तिम्रो ।

हो जून झल्किएको देदीप्य त्यो मुहार
ती चन्द्र मात गर्ने मासा रहेछ तिम्रो ।

अन्तै थियो उडेको मौरी बगान खोज्दै
त्यो फूलतर्फ डाक्ने भाषा रहेछ तिम्रो ।

जोडेर फूल राम्रा माला अहा! बनायौ
रित्तो थिएँ म प्यासी वासा रहेछ तिम्रो ।

गाना मिठा सुनायौ क्या रागले भरेका
मोहान्ध पार्न सक्ने कासा रहेछ तिम्रो ।
छन्द : दिक्पाल
घनश्याम रेग्मी

………………………..

 

बैँस चढेसी प्रेम गर्ने द्वार खुलायौ तिमीले।
नदेख्ने गरी नेत्रमा जहर घुलायौ तिमीले।।

लालायित चंचल मन बाँधेर कहाँ बाँधिन्छ।
रूपलाई प्रेमको शिखरमा चुलायौ तिमीले।

यहाँ जवानीको नसा भनेकै रुप हो त्यसैले।
अर्थोपार्जन गर्दै धेरैलाई रुलायौ तिमीले।

के पाइन्छ त्यहाँ प्रेमलाई बदनाम पारेर।
प्रेमको आडमा किन यो मन डुलायौ तिमीले।।

प्रेमको मूल्य थाहा छ भने भनी देऊ कति हो।
प्रेमको मूल्य तिर्दातिर्दै किन सुलायौ तिमीले।।

सुन्दरप्रसाद रिजाल
बिराटनगर ५

………………………..

घरबारी बगैँचा त्यहीँ त मेराे आफ्नाे धन थियाे
आगनीमा फुलेकाे काेपिला झैँ फक्रने मन थियाे ।

कति हर्ष उल्लासमय थिए ती दिनहरु सम्झन मन छ
सात समुन्द्र पारी भए पनि सम्झिरहने मेराे तन थियाे ।

पढेर आफ्नै खुट्टामा उभिन मन लागिरहन्थ्याे मलाई
मैेले अन्मिनै पर्ने सायद त्यही नै मेराे नयाँ जीवन थियाे ।

आफ्ना साथीभाइ सबैसँग भेट गर्न सारै रहर लागिरहने
बालापनमा रम्दै खेल्न रमाइलो गर्न हृदयदेखि झन् थियाे ।

रीतिरिवाज पनि कस्ताे छाेरी मान्छे अर्काकाे घर जानू पर्ने
सबैकुरा बुझेर नै हाेला केही गर्नुपर्छ भन्ने आफ्नै पन थियाे ।

भानु पाेखरेल
भद्रपु -९ झापा

……………………………………………..

 

पर्वाह नहोस् सानातिना चोटको
खाँचो छ यहाँ सही अठोटको

फलेको रुख हो सबैले ताक्ने
झटारो पुगेमा दोष छैन बोटको

फ्याँकेर अस्त्र लगाउॅंछन् वस्त्र
आफ्नो बनाउन रित्त्याउॅंछन् कोटको

लोदरको चियागफ भो चाहिन्न
बिगार्ने तिमी हैन, तिम्रो छनोटको

बा अचेल गफिन्छ बुढीऔॅंलासित
तिम्रो काम खाली एउटा भोटको

म्यामराज राई

………………………..

शहर बन्ने सपना झल्किसक्यो।
नबन्ला कि भन्ने डर ढल्किसक्यो।

माइन्डफुल सिटीको चर्चा गर्दा
भूमिपूजाको दियो नै सल्किसक्यो।

गेलेफु शहर बन्ने भएपछि
जनताको अनुहार टल्किसक्यो।

राम्रा राम्रा कम्पनीले बनाएर
सुहाउँदो मानचित्र हल्किसक्यो।

कहिल्यै नचिताएको यो शहर
अब त सबैको सामु मल्किसक्यो।

अच्युत घिमिरे
सर्पाङ, भुटान

……………………………………………..

 

विदेशिए युवाशक्ति बढ्दै छ यो लर्को
जान्छ एक साथी उतै तयार फेरि अर्को

चोलो फाट्‌यो काँध थाक्यो बा आमाको आज
घरबारी बन्धकीमा मिटर ब्याज चर्को

छातीभरि दुःख पीडा मन पोल्छ अति
जता गयो चिन्ता मात्रै घर छाना खर्को

जायजेथा पुर्खौली पौरख श्रम धेरै
छैन अब पाटोबारी छैन एक धर्को

जाडो हुँदा लग्‌लग काम्दै सन्तानको माया
नाङ्‌गिएर आफू सधैंओडाईदिन्थ्यौ बर्को !

शारदा गौतम आचार्य
ललितपुर

………………………..

हुन त निष्ठुरी बनी मायालु छोड्न पनि कला हुनुपर्छ ,
आफन्त र इष्ट मित्रहरुलाई जोड्न पनि कला हुनुपर्छ ।।

खनजोत गरी मलजल गरी बच्चाको झैँ स्याहार गरी,
माटोमा सुन फलाउन करेसा गोड्न पनि कला हुनुपर्छ ।।

कलमले नै ईतिहास लेख्छ कलम नै वर्तमान देखाउँछ,
राम्रो नराम्रो जानेर पाइलाहरू मोड्न पनि कला हुनुपर्छ।।

सत्ताका पाले पहरेदार मै चुप तैं चुप भन्दै हिंड्छन अरे,
अन्यायका विरुद्धमा बम फोड्न पनि कला हुनुपर्छ।।

अलखको फूलबारीमा फुल्नै पर्छ सयपत्रीको एक फूल,
दाग नलाग्ने गरी सुन्दर कमल तोड्न पनि कला हुनुपर्छ।।

अलख निरन्जन लोहार
टीकापुर , कैलाली
हाल : भारत

………………………..

ठुलाे भ्रष्ट बन्दा कुनै नाम हुन्न
उज्यालाे नछर्ने कुनै घाम हुन्न ।।

परैबाट श्री सूर्यले रश्मि छर्दा
धरामा नपुग्ने कुनै ठाम हुन्न ।।

सबैकाे विना शुल्क स्याहार गर्छन्
रिझाएर तिर्ने कुनै दाम हुन्न ।।

तिनै सूर्यलाई यहाँ राम मान्छन्
शताब्दी नयाँमा कुनै राम हुन्न ।।

कडा अग्निझैँ सूर्य हुन्छन् परन्तु
तिखाे ताप पर्दा कुनै डाम हुन्न ।

होम सुवेदी

………………………..

धागो चुँडेकाे चङ्गाजस्तै उडेकाे छ मन
हाँगा काटेकाे वृक्षजस्तै भएको छ मन

तिमी चिसाे पानीले स्वागत गरेँ भन्थ्यौ
किन हो कुन्नि भित्रभित्रै जलेको छ मन

मेरो रहर हाँगामा मुस्कुराएर बस्ने थियोे
नदीमा चढाएको फूलझैँ बगेको छ मन

घाउ छातीभित्र कतै लुकेर बसेकाे छ
पीडा पग्लेर आँखाबाट चुहेकाे छ मन

प्रियतम, तिमीले थाहै पाएका रहेनछाै
तिम्रै दिलभित्र डेरामा बसेकाे छ मन

डा. घनश्याम परिश्रमी

……………………………………………..

 

पैसा नखर्ची पुगिने धाम कहाँ छ र ?
हरेक साँझ नडुब्ने घाम कहाँ छ र ?

सर्वत्र नभई नहुने शुभ कार्यमा
यो फूलमालाको बदनाम कहाँ छ र?

किसान दुःखीत हुन्छ उब्जनी गरेर
उसले बेच्ने बेलामा दाम कहाँ छ र ?

भोट जितेका नेता आए गाउँमा हेर
विकास केही छैनन् सम्मान कहाँ छ र ?

सनातन धर्म मान्नै छाडे नेपालीहरू
यसै भन्छन् भक्त तिम्रो राम कहाँ छ र ?

भगवती दवाडी
झापा

……………………………………………..

 

हरपल कोसिस गर्दैमा काम बनिहाल्छ भन्ने छैन
सूर्य साँझ ढल्दैमा जीवन ढलिहाल्छ भन्ने छैन

भीर पखेरा हिँडेकै हुन् हाम्रा पूर्वज उन्नति खातिर
तिम्रा पाउ त्यहीँ पर्दैमा ज्यान लडिहाल्छ भन्ने छैन

सधैँ रोजेको पुग्दै आएको हो, ग्रह त जब्बर हुन्
भाग्य बलियो होला तर चिट्ठा परिहाल्छ भन्ने छैन

झेल्नु,भोग्नु, लड्नु, उठ्नु, रम्नु सबै नियति हुन्
खुशी को वर्षा हुन्छ तर दुःख बगीहाल्छ भन्ने छैन

जोखिम नबोकी सफल बन्ने नबन्ने जान्नु कसरी
लगानी गरिएका आम्दानी फसीहाल्छ भन्ने छैन

विमुन्स

……………………………………………..

 

सम्झनाको छालले सताउँछ ।
चेहराको छालाले बताउँछ ।

तिमी मेरो भन्ने कुरा मायालु,
मनभित्र यादले जताउँछ ।

जाऊ जति जानु छ टाढा तिमी,
कल्पनाले हृदय तताउँछ ।

जोडिएको छ सम्बन्ध गहिरो,
त्यही सम्बन्धले त मताउँछ ।

सविता के.सी.

……………………………………………..

 

भरोसा मात्र होइन, भाग्य आफैँ कोर्नुपर्छ
बेमौकामा होइन, मौकामा हीरा फोर्नुपर्छ

एकजुट भई एकताका लागि सबै भाइ
सहासका साथ जुटेर त्यो शक्ति जोर्नुपर्छ

त्यो आलस्य त्यागी उद्यमी आफू बन्नका लागि
फाइदा लिन अरूको सिप कला चोर्नुपर्छ

आर्थिक समृध्धिका लागि हो शिल्प कौसल हाम्रो
परनिर्भर होइन स्वसिकाइमा दोर्नुपर्छ

आफ्ना लागि आफैँ,अग्रसर भई स्वावलम्बी
हो अरूको मुख नताकी आफैँले झोर्नुपर्छ

सीताराम घिमिरे
ललितपुर

……………………………………………..

 

आहा गुलाफको सुन्दर फूल फुलेका,
थेग्न गार्‍हो भई बाेट यसै झुलेका,

गुलाफ प्रेम, शान्तिको प्रतीक मानिन्छ,
रसपान गर्न ओहो भमरा डुलेका,

फूल सुन्दरता, स्वच्छताको प्रतीक पनि,
त्यसैले त जहाँ छन् तिनि , त्यहाँ खुलेका,
गुलाफलाई जुन फूल सँग राख्यो,
सुन्दरताको प्रदर्शन गर्दै घुलेका,

सजावटका लागि पनि कहिँ कतै
आयात, निर्यात गर्दै हेर हुलेका।

शोभा आचार्य गौतम
काठमाडौँ

……………………………………………..

 

पानी छैन त्यसै ताल भन्छन्।
ढुङ्गा बिनाको पर्खाल भन्छन्।।

पत्यार लाग्ने गर्दैनन् कुरा
नभेट्नेलाई सञ्जाल भन्छन्।

जो मर्छ बेला नपुग्दै यहाँ
सबैले त्यही अकाल भन्छन्।

आउँदा ठूलो विनाश पार्ने
हल्लिनेलाई भूचाल भन्छन्।

ठूलो भएमा समुद्र भन्थे
सानो हुनाले आहाल भन्छन्।।

घनश्याम पौडेल
पोखरा

……………………………………………..

 

कहिले काँही नभएको हल्ला चलाउनु पर्छ
मुसुक्क हाँसिदिनुस् शत्रुको मन जलाउँनु पर्छ

जस्तो रोप्छौँ त्यस्तै फल लाग्छ यत्ति बुझौँ मित्र
रोपेका बोटहरू फेदैबाट राम्रो पलाउनु पर्छ

दु:ख पीडा नभएका कोही हुँदैनन् यस्तै सोची
चोट लाग्दा आफैँ मनलाई बहलाउनु पर्छ

काम नभएर मान्छे विग्रिने भए ठेगान लाग्छन्
छोराछोरी बनाउन काममा दलाउनु पर्छ

देशको ढुकुटीमा गिद्धे नजर लगाउँनेछन्
खोजी खोजी धूर्त सोचहरूलाई गलाउनु पर्छ

मीरा ज्ञवाली आस्था

……………………………………………..

 

जल्नेहरू छन् जलाउनेहरू छन्
छिर्की हानेर ढलाउनेहरू छन्

जराहीन देख्छु यहाँ धेरैजसो
टुप्पोबाट नै पलाउनेहरू छन्

हौसला दिने छैनन् हिम्मत दिने
सकेसम्म त गलाउनेहरू छन्

आफन्त भनूँ कि शत्रु थाहाछैन
सबै नै छुरा चलाउनेहरू छन्

माया कसले गर्छन् भनूँ र यहाँ
हदैसम्म नै दलाउनेहरू छन् ।

वसन्त अनुभव
घोराही, दाङ

……………………………………………..

 

धेरैचोटि आफूलाई बदलिएर हेरें
हुनेहोला राम्रो भनि आँसु पिएर हेरें

वचन हर बातबातमा लाउँदा पनि
धुजाधुजा भएको यो मन सिएर हेरें

रातदिन केही नभनि आफ्नैका लागि यो
सारा जीवन आधा घोटिदै खिएर हेरें

ढिलै भएपनि बुद्धि सही ठाउँमा पर्‍यो
साहित्य साधाना गर्न भनि ब्युँझिएर हेरें

आफ्नो खुसी यसैमा देख्छु र बाँकी समय
भाषा, साहित्य उत्थान सिक्न दिएर हेरे।

सीता शर्मा पन्थी
वीरगञ्ज

……………………………………………..

 

दम्भको झोला फुकालेर आऊ
ज्ञानको ज्योति जलाएर आऊ

प्रेमको ढोका खोल स्वागतले
जिन्दगीको सूत्र बुझेर आऊ

पिरतीको यात्रा नरोकियोस
सँगै साथ भई पर्खेर आऊ

मायाको मन्त्र जगाएर रोपौं
सफल हुने मन्त्र जपेर आऊ

फूलैफूलको गलैंचा बिच्छाएछु
प्यारो पाउ फूलमा टेकेर आऊ ।

अमृता रामदाम
चितवन

………………………..

हे कृष्ण ! वंशीवाला
आऊ न नन्दलाला

राधा कुरेर बस्छे
स्यूरेर धान–बाला

सम्बन्ध होस् अभिन्न
हे चन्द्रका उज्याला !

आऊ रचौं न रास
हे दिव्य रूप ! काला

छत्रपति दाहाल

……………………………………………..

 

घमण्डीले अरुमाथि जाल बिछ्याउने गर्दा रहेछन्
आफैँले बिछ्याएको जालमा आफैँ पर्दा रहेछन्

भन्नलाई त समाजमा सधैँ अघि बढ्नु पर्छ भन्ने
तर अरुलाई दु:ख पर्दा सधैँ जहर छर्दा रहेछन्

धन भन्दा पनि मन ठुलो हुनुपर्छ भन्दै गर्दा
धन देखेपछि मानिस भुतुक्क भै मर्दा रहेछन्

बाठाहरूकै त छ हालीमुहाली यो दुनियाँमा
सोझा र निमुखाको सबैले सधैँ मन हर्दा रहेछन्

कानून त गरिबीले पिल्सिएकालाई मात्र न हो
ठुलाकै उपस्थितिमा ठुलै घटना पनि टर्दा रहेछन्

सुनिता बराल

……………………………………………..

 

तिमीबाट टाढा हुनु होइन रहर मेरो
जीवनमा एक्लै बाच्ने होइन ठहर मेरो

चल्दाचल्दै मुटु पनि सुनसान हुन थाल्दा
चाहाना हैन बाध्यता पिउन जहर मेरो

पीडाहरू पोखिएर यताउति जताततै
आँखा वेदना बगाउने बन्छ नहर मेरो

गाम्भीर्यता देखिदैछ सागरको निलो जल
उत्तालिदै बहिदिन्छ मनको लहर मेरो

चाहाहरू ओइलाएर अलपत्र भुइँमा
उजाडियो हेर्दाहेर्दै सुन्दर सहर मेरो ।

निरू गौतम
मोरङ

……………………………………………..

 

तिम्रो पछिपछि आउन मन लाग्यो
तिम्रै घरमा नै धाउन मन लाग्यो !

तिमीले नै गुनगुनाउने प्रेमिल गीत
मलाई आफ्नो लयमा गाउन मन लाग्यो !

तिमी मन परेपछि के गर्नु त प्रिया
ज्याननै बाजी राखी पाउन मन लाग्यो !

तिमी र मसँग सँगसँगै बस्नको लागि
हाम्रो नै घरको छानो छाउन मन लाग्यो !

तिमीनै हौ मैले ठानेको मेरो जिन्दगीको सुख
त्यसैले तिमीसँगै पिरती लाउन मन लाग्यो !

पवनकुमार बुढाथोकी

……………………………………………..

 

व्यर्थ हिँड्छौ राजनीतिमा मात्र गाली खान
छिमेकी र ईष्टमित्र छुट्छन् सत्य जान

संघीयता घाँड‍ो भयो देश भयो खोक्रो
के छ आफ्नो ठुलो शक्ति बरु छिट्टै तान

मलाई र घरलाई समय छैन भन्छौ
पुर्खा जस्तो कहाँ राख्यौ हाम्रो पहिचान

पूजा व्रत समाजमा जान्छन् जोडाजोडी
म एक्लिँदै कति जानु जान्न जे नै ठान

यति वर्ष भइसक्यो विवाहकाे बन्धन
घरद्वार देख्छौ छिटो बनेको अवशान ।

मेघनाथ `बन्धु´

……………………………………………..

 

प्रेमको प्रतीक हो सबै गुलाफ भन्दछन्
राख आँतमा तिमी सधैँ छ माफ भन्दछन्

राहमा तिमी सँगै भनी छु हात यी समाउदै
राख लुकाइ भित्र यो सराफ भन्दछन्

दुःख जिन्दगी भरी म दिन्न संगिनी कहीँ
राख्छु भित्र आँतमा गरी निसाफ भन्दछन्

गाउँले मिली रमाउँदै गएर भोज खाउँला
खान पर्छ है सबै मिलेर हाफ भन्दछन्

चाहना मासु खान आज स्वादिलो पकाउँदा
क्पा मिठो भएछ आजको कवाफ भन्दछन्

रसज्ञ छहरा
कावासोती -३ नवलपुर, नेपाल

……………………………………………..

 

जिन्दगीमा सत्कर्म गर्ने प्रेरणाको हात तिमीलाई
सुस्वास्थ्य दीर्घायुका कामनाको खात तिमीलाई

सुख शान्ति समृद्धि र उन्नतिको प्रगति होस् सधैं
जन्मदिनमा छ शुभकामनाको सौगात तिमीलाई

प्रत्येक चुनौतीसँग सामना गर्ने हिम्मत राख्नु हेर
जीवनका हरेक मोडमा यिनै मिठा बात तिमीलाई

भएको एउटै कुरा यहाँ तिम्रो लागि स्नेह झनै मेरो
मूर्त उपहार क्षणको मधुरमा हरेक रात तिमीलाई

प्रेणादायिक छ आनन्दको लामो दूरी जीवनको यहाँ
हृदय भरी छन् प्रभावकारी खुसीका ताँत तिमीलाई।

डिल्ली राज घिमिरे
भूमिकास्थान ९, अर्घाखाँची

……………………………………………..

 

मुखले ठिक बनाएर दोधारमा पार्छौ तिमी
तड्पाए आमालाई बसाईॅ पर सार्छौ तिमी

यही बसी इलम गर भन्दा सुन्दै नसुनिकन
झोला बोकी परदेश तिर सधै किन?चार्छौ तिमी

ऋतुअनुसार मौषमले त वदलिनु पर्छ पृथ्वीमा
जिन्दगी भन्नु संघर्ष हो व्यर्थ ॲासु झार्छौ तिमी

सुस्तरी सूर्य उदाए झै एकदिन काम पक्का बन्ला
एक्कै चोटी जूनमा पड्को झ्याप्प क्यारी ?माछौ तिमी

मानिसको चोला भन्नु दुख सुखको संगम नै हो
पानी छुनै नखोजे पछि कहॅा खोला तार्छौ तिमी

बात ठुला गरेर मात्र यो दुनिया चल्दैन बुझ्नु
स्यौला बाली मौरीलाई वेकारमा लछार्थौ तिमी

सबै तिर च्यातचुत गर्छौ गॅुड नलाउने वॅादर वनि
कोही अगाली भए भने खुट्टा तान्दै लछार्छौ तिमी

गीता बजगाईॅ

……………………………………………..

 

उकालीमा समाउने हात कस्तो होला ?
चौतारीमा मायालुको बात कस्तो होला ?

जिन्दगानी घाम छाया भन्दै यात्रा गर्दा,
जुनेलीमा चाँदनीको मात कस्तो होला ?

पाएसम्म सबै जना आफ्नै पोल्टा भर्ने,
स्वार्थपूर्ण मानिसको जात कस्तो होला ?

ढकमक फूलबारी हरियाली वन,
रुखबाट खसेको त्यो पात कस्तो होला ?

आखिरीमा आर्त आँसु झर्न थाल्यो धेरै,
पीडामाथि पीडा थप्ने घात कस्तो होला ?

आर्त अकुलीन

 

……………………………………………..

 

शेयरकाे लगानीझैँ, जिन्दगी डुबाएर
फालि निकाल्दिन्छन् यहाँ सियाे पसाएर

केटाकेटी खेल नसम्झिनु महाेदय
चुराेटकाे झिल्काले संसार जलाएर

दिनरात तिम्रो प्रेमको भिख मागिरहेँ
गयाै तिमी कलेजीमा आगो लगाएर

जिन्दगीकाे रङ्गमञ्चमा के भयाे के के
नसाेध श्रद्धाको हाल घायल बनाएर ।।

श्रद्धा आचार्य
पोखरा

……………………………………………..

 

मायामा किन यसरी आज मज्जाको खेलभो
सायद त्यो नै आफ्नोचैँ निम्ति नहुने झेलभो।

तानेर केभो ? यो खुट्टा मेरो जसरी तसरी
तिमी नै भन जीवन यो चैँ कसरी फेल भो।

बाटो नै बाटो हिँडेको छुनी छोडिन कहिल्यै
भनिन मैले जिन्दगी ठूलो अबचैँ जेल भो।

काँडाचैँ हुन्छ फूलमा ठानी भागिन कहिल्यै
थाहानै नभै आँखाको आँसु सबैनै तेल भो।

बसैमा यात्रा गर्दैछु भन्थे होइन रहेछ
एक्कासी त्यो चैँ कसरी फेरि त्यो थोत्रे रेल भो।

मार्सेली महेश

……………………………………………..

 

प्रशंसा र फूलमालाको जमाना छ
सेतो धन्धा भन्दा कालाको जमाना छ

भित्री गुदीको कमै अर्थ लाग्छ अहिले
आकर्षक छाला र गालाको जमाना छ

सार्वजनिक पद ओगट्नेहरूमा हेर्दा
आफ्नै सम्दी साली सालाको जमाना छ

पूरा कपडा लगाउँदा लाज लाग्छ रे
त्यसैले दुइ अङ्गुल टालाको जमाना छ

गरिबीले छाक टार्न धौ धौ छ घरमा
तर हातमा सुनको बालाको जमाना छ

यज्ञलाल सुवेदी
बुटवल, रूपन्देही

……………………………………………..

 

आमाको न्यानो कोखबाट, सुरु हुन्छ जिन्दगानी
बाउ आमालाई पर सार्छन्, चढेपछि जवानी

बुढेसकालको सहारा भनी, मसार्छन् मायाले
उनका हरेक इच्छा पूरा गर्छन् ,झर्को नमानी

हुर्के बढे ठुला भए अनि हिड्छन् , आफ्नै सुरमा
हिजोको काख आज बोझ लाग्यो, भन्छन् जानीजानी

उमेर ढल्क्यो हात पाउ बसे ,कोही छैन साथ
न त भोकमा भोजन पाउँछन् ,न तिर्खामा पानी

समय बित्दै जान्छ, घुमीफिरी पालो आउँछ
पछुतो मान्दामान्दै प्राण उड्छ, शरीर खरानी ।।

सावित्री अधिकारी

……………………………………………..

 

सुनाउँदै छु खुशीको महर
बेथेलेहेम जन्मेको ठहर।

प्रसव वेदना सुरु बस्ने कता
खचाखच भयो गाउँ शहर।

अप्ठेरोमा हुँदै जनगणना
बाध्यता मरीयमको कहर।

जन्मनु गाईको गोठैमा लौन
मैलो हृदय सफा गर्ने लहर ।

शान्तिदाता मुक्तिकर्ता नै उनी
पश्चातापी हृदय पारे प्रहर ।

जमुना कायस्थ
पोखरा

……………………………………………..

 

बालापन कति प्यारो लाग्ने सबै भूलि दिन्छन्
को आफ्नो कुन पराई सबलाई चाख लिन्छन्

लौ! छैन पीर सुर्ता बाबा आमा नभएपनि
जतिसुकै अर्थ भेटेपनि सिङ्गै आफू किन्छन्

तोतेबोली प्यारो यिनी चालढाल बानी राम्रो
साथी,आमा, गुरुहरू यिनले राम्ररी चिन्छन्

रोइदिन्छन् साथीदेखि आमाको सामान छुँदा
वैरी सरह एक एकले पोल खोली छिन्छन्

जिज्ञासु उस्तै देखेजति जान्नुपर्ने तुरुन्तै
खेलमै हराई माटो ढुङ्गा मसला झैँ पिन्छन्

जमुना आचार्य
सिन्धुपाल्चोक

……………………………………………..

 

अरूका चुक्ली लगाएर नजिक हुन नखाेज
रहेर आफू छारामा भार छुन नखाेज

सत्य सत्य नै हाे असत्य कहिल्यै टिक्दैन
गधालाई गाई बनाउँछु भनी धुन नखाेज

मन जित्नलाई त असल कर्म गर्नुपर्छ हजुर
जित्न भनी गाेहीकाझैँ आँसु झारी रुन नखाेज

मन हुन्छ गरिबकाे नि ठेस लाग्दा रुने गर्छ
भाेकमा ठुलाे भाेजन हुन्छ नम्बरी सुन नखाेज

दिलभित्रकाे चाेखाे माया बाँचिरन्छ सयाैँ जुनी
बहकाउमा प्रेमडाेरी सजिलै फुन नखाेज

चन्द्रावती अधिकारी