सार्वभौमिकता, राष्ट्रिय एकता, अक्षुण्ण स्वाधीनता
गणतन्त्र आयो स्व-शासन गरी खुसी छन् जनता
भौगोलिक रुपमा अखण्ड नेपाल सार्वभौम लोकतन्त्र
सामाजिक न्याय समता समाज निर्माणमा संकल्प

इतिहास रचे ती वीर पूर्खा सलाम सहिदलाई
यो देशको गौरव बढाउनुपर्छ मिलेर दाजुभाइ
नेपाली माटो निधारमा दली सुगन्ध लिएर
देशको विकास गर्नु छ आफ्नो पसिना दिएर

च्यापेर काखी कस्तुरी डाँफे हिमाल हाँस्दछ
बगाई झरना, छाँगा‑छहरा, पहाड नाच्दछ
बहुल जाति भाषा र धर्म आआफ्नै परिवेश
स्वर्गको आभास गराउन सक्ने विश्वमै मेरो देश

सगरमाथा शिरपोश लगाई फेवामा हेर्दछ
तराईभूमि पहेँलपुर भई बयेली खेल्दछ
इन्द्रेनी जस्तै सुन्दरता छर्ने भाषा र भेष मेरो
धर्म र भाषा संस्कृति विविध स्वर्गीय देश मेरो

भारा र पर्म ऎँचो र पैंचो सहिष्णुतामा रमाउँछौ
महाकाली लडे मेचीले रुँदै दुवै हात समाउँछौँ
होस्टेमा हैँसे गर्ने छ बानी लाग्दैन कोहीलाई ठेस
प्रकृतिको नै अजस्र उपहार विश्वमै मेरो देश

रोदी र झ्याउरे मारुनी अनि हाक्पारे मेरै हो
उधौली ल्होसार छ्ठ र तिहार होली नि मेरै हो
पहेँलपुर तराई, हरियो पहाड हिमालको सेतो केश
भृकुटी सीता पुर्खाको योगदान बिर्सन्न मेरो देश

गुल्मीको कफी पाल्पाको ढाका सुन्तला पोखरेली
हर्षोल्लास हुन्न इलामको चिया बगानमा नखेली
ट्रेकिङ बन्जी प्याराग्लाइडिङ साङ्‌किलिङ रमाउन
कुरिरहेछन् रारा र फेवा मितेरी लगाउन

प्रशव पीडा बोकेर धरती छटपटाइरहेको
आउ युवा बगाउँ पसिना भन्दै विकास खोजेको
ईर्ष्या र द्वेष हटाई सारा प्रेमको गीत गाउँ
होस्टेमा हैँसे मिलाउँ अनि देश अघि बढाउँ

हे युवा जाग नेपाली भूमि फलाउन फुलाउन
वन र पाखा हिमाली काखा पर्यटक डुलाउन
बद्धले शान्ति छरेको देश ऋषिको तपोवन
अध्यात्म ज्ञान, सौन्दर्य जादु फुरुङ्ग पार्छ मन ।

तिलोत्तमा -०९ रुपन्देही