आएन देश बनाउने सोच
झुपडीमा नुन आएन
गाउँमा विकास आएन कहिल्यै
हराएको सुन आएन
र पनि,
एक थान सम्बोधन आएको छ
दशकौं भइसक्यो मेलम्ची आएन
जनताका धारामा पानी आएन
आएन नागरिकहरूमा हौसला
भत्किएका घरहरूमा राहत आएन
र पनि,
देशमा सम्बोधन आएको छ
खुशीको बाछिटा आएन गाउँमा
शहरमा समृद्धिको नाम आएन
आएनन् पलाएन भएका मनहरू
ज्ञान अनि सीप आएन
गुमेको माटो फिर्ता आएन
बाहिरिएको धन आएन
देश बनाउने प्रतिबद्धता आएन
र पनि,
सरकारको सम्बोधन आएको छ
जाजरकोट र बझाङ्ग रुँदा
सम्बोधन नआउने देशमा फेरि
आज एकथान सम्बोधन आएको छ
झुटा आश्वासन र सपनाहरूको
एउटा बन्द खाम आएको छ
मालिकहरूका खुशीहरू बोकेर
जनताका नाममा सम्बोधनमा आएको छ
शासकहरूका गल्ती लुकाउन
शासकहरूले चाहेकै संख्यामा
विकास आएको छ
विज्ञ आफैँ र आसेपासेले बुझ्ने
तर, जनताले महसुस नगर्ने
यो देशमा विकास आएको छ
अनि, गाउँमा बाटो आएको छ
पहिरो आएको छ
र
हजारौँ जनप्रतिनिधि
अनि
भ्रष्टाचारको बाढी आएको छ
अरु केही आओस् वा नआओस्
कम्तिमा जनताका नाममा
एउटा सम्बोधन त आएको छ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 








