राजा मानदेवको मनमा उनले सम्झिरहेको यो आकाश छ

राजा मानदेवको मनको यो आकाश तल उभिएर
राजा जयस्थिति मल्ल आफ्नो मनमा यो आकाशलाई सम्झँदैछन्

राजा जयस्थिति मल्लको मनको यो आकाश तल उभिएर
राजा मुकुन्दसेन आफ्नो मनमा यो आकाशलाई सम्झँदैछन्

राजा मुकुन्दसेनको मनको यो आकाश तल उभिएर
राजा पृथ्वी नारायण शाह आफ्नो मनमा यो आकाशलाई सम्झँदैछन्

को कहाँ छ ? यो आकाश कहाँ छ ?
यो आकाश वास्तवमा छ पनि कि छैन ?

कसको मनको आकाश तल अहिले बग्दैछ
सुनकोसी नदी र
कसको मनको आकाश तल अहिले पर्दैछ
लोत्से हिमालमा हिउँ ?

कसको मनको आकाश तल
यो केटी आफ्नो घर जाँदैछे ?
यो केटी वास्तवमा छे कि छैन ?

कसको मनको आकाश तल
म आफ्नो घरको छतमा उभिएको छु ?
म वास्तवमा छु कि छैन?