वसन्त खनाल

प्राणी मरे पनि
जीवित उसको आँखा रहन्छ
आँखा एउटा पारदर्शी वस्तु
जिन्दगीका बहुरङ्गी गुलाब
नियाल्ने
सानो झ्याल
तर
एउटा ब्रह्माण्ड
अनगिन्ती सपनाहरू
बुन्ने, कुद्ने

चकनाचुर बन्दै
सहिद बनेका
सपनाहरूलाई
अन्तिम दागबत्ती दिएर
अँगार पखालिदिने
हिम्वत खण्डको
निस्प्रवाह
बगिरहने
स्वच्छ
मूल
तलाउ
हो आँखा ।

दृष्टिलाई
दृश्यमा बदलेर
चेतनलाई अवचेतन
अवचेतनलाई चेतन बनाउँदै
आँधीहुरी
तुफान
उकुसमुकुस
छट्पटी
दिग्दारी
बेचैनी
आशक्ति
आरोह-अवरोह
सपना-विपना
फूल-काँडा
सुन्दरता र कुरूपताको
हुलाकी बनेर
गिज्याउने
पनि त उही आँखा हो ।

दृष्टिलाई दृश्यमा
नबल्दो हो त
आज
तेजाब आक्रमणको क्रुरताले
सानो सुखी र खुसी
संसारका अनगिन्ती
सपनाहरू लुटिने थिएनन्
सायद !
पानी पानी भन्दै छट्पटिइरहेको
बटुवाको बिन्ती
रोयल्टीमा रूपान्तरण हुन्थेन कि ?
चुँडिने थिएनन् अबधो
पैसाको कालो मुख देखिन्थेन् होला !
आचरण भ्रष्ट र नैतिक
पतन भएकाको थोप्डा विलीन
बन्थ्यो कि ?
हिमाल, पहाड, तराई
उकालो, ओरालो
अग्लो, होचो
विवध विशेषण लाग्थेन कि ?
सायद,
कोरिन्नथे
रङ अनि
भूगोलका सीमारेखाहरू पनि
विशेषणविहीन शब्दहरूको
खेलाइमा
विभेद कसरी जन्मन्थ्यो होला र ?

“फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काडै संसार ´´
हुन्छ र त
अब,
कि आँखाहरू बन्द हुनुपर्छ
कि काँडा देख्नु पर्छ ।
किन कि
फूल हेर्ने आँखाहरू
निकै बेइमान छन् ।
हेरेर मात्रै छाडेनन् – टिपी, चुसी,
पत्ता थुतीथुती मिल्काउँछन् आखिर ।
आँखाले
विशेषण जन्माउँछन्

थोपर्छ विभेद
ऐन तथ्यमा आँखा चिम्लन्छ

सत्य लम्पसार पर्छ
त्यस‌ैले,
आँखा बद्लिनुपर्छ
जस्ताको तस्तै
हुलाकीको पुरानो जागिरबाट
अनिवार्य अवकाशसहित
निवृत्त हुनुपर्छ
आँखा ।।

वालिङ, स्याङ्जा