विश्वविद्यालयले मलाई कार्लमार्क्स पढायो
अहँ म पढ्दैन कहिल्यै भनेन
कहिले कम्युनिष्ट पार्टीको घोषणा-पत्र पढेँ
सर्वहारा र बुर्जुवा खुट्याउन सिकें

गुरुहरूले कक्षा कोठामा मलाई
समाजशास्त्र/ मानवशास्त्र
दिनहुँ घोकाइरहँदा प्रतिवाद गरेन
मानव समाजलाई
मार्क्सवादी आँखाले हेर्न र बुझ्न सिकेँ

हो त्यतिबेला
संसद् भनेको खुसीको टाउको झुण्ड्याएर
कुकुरको मासु बेच्ने थलो हो भन्ने सिकेँ
कार्ल मार्क्सलाई पढ्दै गर्दा
राज्यको धर्म हुन्न भन्ने बुझाइयो
मलाई धर्म अफिमको नशा भनेर पढाइयो

यदि विश्वविद्यालयमा तपाईं र मलाई पढाइएको
कार्ल मार्क्सले लेखेको त्यो घोषणा-पत्र ठीक हो भने
संसद् भनेको कुकुरको मासु बेच्ने थलो हो भने
धर्म भनेको अफिमको नशा हो भने
मार्क्सवाद असल भौतिक विज्ञान हो भने
सामाजिक न्यायका
हरेक खाले विभेदहरूका विरुद्ध
आउनुहोस् विना पूर्वाग्रह स्वतन्त्र बहस गरौँ

ए मार्क्सवादीहरू !
मैले अहिले बुझ्दैछु
हामीले संसद् छिर्ने तमाम बगरेहरूका निम्ति
स्वतन्त्र भोट दिएकै त हो
विगतमा धर्मलाई अफिम भन्दै
मन्दिर तोडिएको इतिहास हामीसँग सुरक्षित छ

अचेल छद्मभेषी बगरेहरू
कहिले गेरुवस्त्रमा
कहिले जलहरीमा नाम लेखाउँदै
अफिमको खेती गरेर मेरो माटोमा
छाँदिरहेछन् युगीन यथार्थ
अनि उनीहरू नै
जात र धर्मका नाममा खेलिरहेका छन्
हाम्रो भातृत्व, एकता र प्रेमसँग

ए बगरेहरू
तिम्रा राजनीतिक पसलहरूमा
मार्क्स र लेनिन र बिपीका तस्बिर झुण्ड्याउँदैमा
अथवा माओको जन्मदिवस मनाउँदैमा
माओ, एंगेल्स, लेनिन, मार्क्स र बिपी बन्ने भए
नेपाली माटोमा समाजवाद फुल्ने र फल्ने
म हरेक दिन उनीहरू जस्तै बन्न तयार छु ।

पोर्चुगल