प्रतिस्पर्धाको खेल खेल्नै पर्छ
तिमीले नै भन्छौ
खेलमा
हार पनि हुन्छ
जित पनि हुन्छ
तिमीले नै भन्छौ
तर
आफूले मात्र जित्नै पर्छ
तिमीले नै खोज्छौ
जित्नेको उत्सव मनाउँछौ
हार्नेलाई कायर
तिमीले नै ठान्छौ
भनँ म कस्तो खेल खेलूँ ?

जसले छक्याउन सक्छ
उसैले मात्र क्रिकेट जित्छ
तिमीले छक्याउन हुँदैन भन्छौ
जसले झुक्याउन सक्छ
उसैले मात्र फुटवल जित्छ
तिमीले झुक्याउन हुँदैन भन्छौ
छक्याउनु बेइमानी हो भन्छौ
झुक्याउनु बेइमानी हो भन्छौ
नछक्याई जित्न नसक्ने खेल
नझुक्याई जित्न नसक्ने खेल
तिमीले नै रच्छौ
खेल जित्नैपर्छ पनि तिमीले नै भन्छौ
बेइमान हुनुहुन्न पनि तिमीले नै भन्छौ
भनँ म कस्तो खेल खेलूँ ?

सम्भव नभएको कहाँ हो र ?
तिमीले जित्दा मैले पनि जित्न मिल्ने
तिमीले नहार्ने र मैले पनि कहिल्यै नहार्ने
तर
आफू मात्र जित्छु भनेर खेल खेल्छौ
खेल्दा
कहिले म हार्छु तिमीले जित्छौ
कहिले म जित्छु तिमीले हार्छौ
प्रतिस्पर्धाको खेल खेल्नै पर्छ पनि
तिमीले नै भन्छौ
आफू मात्र जित्ने खेल खेल्छु पनि
तिमीले नै भन्छौ
जित्नकै लागि
बेइमान भएर पनि तिमी नै खेल्छौ
बेइमान हुनुहुन्न पनि तिमीले नै भन्छौ
भनँ म कस्तो खेल खेलूँ ?