म
यहाँ अहिले
कसैले सम्झिरहेका शब्दहरूले
यो कविता लेख्दैछु
यो सूर्य
यहाँ अहिले
राजा धर्मदेवले सम्झिरहेको सूर्य हो
यो आकाश
यहाँ अहिले
राजा रणजित मल्लले सम्झिरहेको आकाश हो
यो बादल
यहाँ अहिले
राजा रुद्रसेनले सम्झिरहेको बादल हो
यो संसार
यहाँ अहिले
छ कि छैन ?
राजा यलम्बरले
यहाँ अहिले सम्झिरहेका यी आँखाहरू
तिमीले लगाएकी छ्यौ
राजा मानदेवले
यहाँ अहिले सम्झिरहेका यी हातहरू
तिमीले पहिरेकी छ्यौ
राजा पृथ्वी नारायण शाहले
यहाँ अहिले सम्झिरहेका यी काँधहरू
तिमीले लगाएकी छ्यौ
तिमी
यहाँ अहिले छ्यौ कि छैनौ ?
म तिमीसित प्रेममा परेको छु
यहाँ अहिले
रानी राज्यवतीले सम्झिएका आफ्ना वक्षहरूलाई
तिमीले लगाएकी छ्यौ
यहाँ अहिले
रानी लालमतीले सम्झिएका आफ्ना ओठहरूलाई
तिमीले लगाएकी छ्यौ
तिमी
यहाँ अहिले छ्यौ पनि कि छैनौ ?
म त तिमीसित प्रेममा परिसकेको छु
यहाँ अहिले
कसैले सम्झिरहेका शब्दहरूले
म
यो कविता लेख्दैछु
तिम्रो कम्मरलाई
रानी राजेन्द्रलक्ष्मीले
यहाँ अहिले सम्झिँदैछिन्
तिम्रो घाँटीलाई
राजकुमारी भृकुटीले
यहाँ अहिले सम्झिँदैछिन्
तिम्रा अंगहरू
यहाँ अहिले
रानी, राजकुमारीहरूका स्मृतिहरूमा छन्
तिमी
यहाँ अहिले
छ्यौ कि छैनौ ?
म त तिम्रो प्रेममा परिसकेको छु
राजा सिद्धिनरसिंह मल्लले
यहाँ अहिले सम्झिरहेको यो घाममा डढ्दै
म यहाँ अहिले
तिमीसित अस्पताल जाँदैछु
राजा यक्ष मल्लले
यहाँ अहिले सम्झिरहेको यो वर्षामा रुझ्दै
म यहाँ अहिले
तिमीसित तरकारी किनेर फर्कँदैछु
यो संसार
यहाँ अहिले
छ कि छैन ?
म त
यहाँ अहिले
तिमीसित प्रेममा परिसकेको छु
यहाँ अहिले
कसैले सम्झिरहेका शब्दहरूले
म
यो कविता लेख्दैछु
राजकुमारी भृकुटीले
यहाँ अहिले सम्झिरहेको
आफ्नो सौन्दर्यलाई
तिमीले
यहाँ अहिले
लगाएकी छ्यौ
तिमी
यहाँ अहिले
छ्यौ कि छैनौ ?
म त
तिम्रो प्रेममा परिसकेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




