शहरको प्रदूषित वायु माझ
आफ्नो फोक्सो माझ नृत्य नचाउनेलाई
गाउँको अर्गानिक हावाको महत्त्व के हुन्छ र मनन ?
रहेछ जिउपालो निर्भर
फोहोरमैलासँगै
भलाकुसारी गर्दै
शृङार गर्दै प्लास्टिकका
पहिरनमा
लाग्दोरहेछ रोजगारदाता नै
फोहोरमैला नै ती बाल मजदुरलाई
भएर घरबारविहीन
झुप्रोको जिन्दगीमा रमाउन
बाध्यकर मनुवालाई
लाग्दोरहेछ छाप्रो नै
थाकेका अवयवलाई
विश्राम दिने प्रासाद सरी
गाएर बेथितिका
आलापहरू वर्तमानकालमा
ती बादलको गर्जनबाट
चुहिएको छानोले
दिएका रहेछन्
नयाँ जीवनको
अभिलाषा
नेता‑कार्यकर्ताबाट
चुसिएका निमुखाहरूलाई
गुन्जिएका हुन्छन् त्यही
तपतप जलका धुनहरू
पाँचतारे होटलका
प्राङ्गणमा
दिलाएर धनीमानी
उद्विग्न दिल
शान्त पार्ने सांगीतिक खुराकी
जो भएका छन् आफ्नै धनले
अन्तरमनका भिखमङ्गाहरू
ती बेसहारा मुनाले
बुनेका छन् सपना
ती बोरा परिणत फुटबलमा
जसरी बनेका थिए पेले पनि
फुटबलका
चम्किलो तारा सदैव
ब्राजिलको त्यही छाप्रोमा
रहेछन् व्यतित गरेका
आफ्नो शैशवकाल पहिले
मात्तिएर नेता हुन्छन् पागल सरी
झुन्डिन थाल्छन् रोधीघरमा
र नृत्य बारमा
साँझपख गुफामा
चमेरा छिरे सरी
यिनीहरूका हिंसात्मक आँखा
तलासमा हुन्छन्
गामबेसीका कलिला चेलीमा
जहाँ यौनहिंसाबाट
आखेट भएका छन् दिनानुदिन
जहाँ युट्युब भाइरल भिडियो नै
बनेको रहेछ अहिले
जसमा यथार्थ चित्रण
गरिएको छ
ग्रामीण चेलीको
कसरी लुट्ने रहेछन्
उनको नारीत्व
फूलमाया भिडियोमा
दिएको थियो दिनहीनलाई
दाउराको आगोले
न्यानो धाप
लिएका थिएँ
अग्नि देवताको सहारा
नपाएर कम्बल पहिलादेखि
आखेट भएर
अग्निको द्रम्भित रूपले
जलेर अंगभंग
गर्नु परेको छ मृत्युवरण
नपाएर राज्यमा
समयमै उपचार अहिले ।
बर्तुङ्,पाल्पा(हाल युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।