तिमीसँगको पहिलो भेटमा

आकाश अशान्त थियो

बाटो हतारमा थियो

वनजंगलका ठूलाठूला रुखहरू

कोलाहलमा थिए

बगैँचा माटोमा टाउको घुसारेर रोइरहेको थियो

तिमी र म शान्त थियौ

मनमा शितल हावा सुस्तरी बगिरहेको थियो

 

दोस्रो भेटमा

सूर्य गन्हाइरहेको थियो

मान्छे क्लान्त देखिन्थे

चराहरू शोकधुन बजाउँदै

गुँडबाट भुईँमा खसिरहेका थिए

सुनसान थियो वातावरण

हामी भने

चञ्चल थियौँ

केटाकेटीले आइसक्रिम चाटेझैँ

पुसमाघको चिसो चाट्दै

उकालो चढेको घामजस्तो

तेजिला बनिरहेका थियौँ

 

सिंगो पृथ्वी तिमीजस्तो लागेथ्यो

सिंगो आकाश मजस्तो

हामी अधिपतिजस्ता थियौँ

हाम्रा वरिपरि घुमिरहेका थिए

सम्पूर्ण ग्रहहरू

तेस्रो भेटमा

 

हिजोआज हाम्रो भेट बाक्लो छ

एकअर्काको छटपटी र बेचैनीका कोर्लाले

थलिएका छौँ हामी

संसार खुशी छ

हामीलाई अशान्तिको हावाले लखेटिरहेको छ

थाहा छैन

समयले मुखुण्डो लगाएको छ

या हामीले

 

औतारी मनलाई

न तिमीले बुझ्न सक्यौ

न मैले

आफ्नै मनसँग अपरिचित हामीहरू

एकअर्कालाई चिनेको भ्रान्तिमा

बाँचिरहेका छौँ ।