सर्प

यम रेग्मी

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

डसेर मार्‍यौ युगवीर योद्धा
फुकेर चार्‍यौ नवयुग पुस्ता
छन् पालुवा भूतल मूर्च्छनामा
पार्‍यौ विषादी जिजुको बगैँचा ।

छौ,धूर्त धेरै रङ रूप फेर्न
छौ,दुष्ट सार्‍है कमजोर पिर्न
आकास धर्ती जल वायुभित्र
देखिन्छ तिम्रो कुभलो चरित्र ।

रुदैछ माछो डरले लुकेर
मूर्च्छा झण्डा पिरले सुकेर
छोडेछ बासै वनको चरीले
भट्केछ बस्ती विषको झरीले ।

जुठो छ भाषा धमिलो छ धर्म
छ वृद्ध संस्कार रुदैछ पर्म
दियो छ फुक्दै तलको हुरीले
मियो छ काट्दै धनको छुरीले ।

बजार छिर्र्‍यौ पथ बिर्सिएर
सत्ता समायौ हद बिर्सिएर
यो सभ्यताको सिप ज्ञान माझ
चल्दैन तिम्रो अपराध राज ।

बस्ने तिमीले वनभित्र नै हो
डस्ने तिमीले पशु जीव नै हो
वालेन हर्कू रवि मार्नु भन्दा
सुटुक्क लुक्दै हित हुन्छ भाग्दा ।

माटोको सन्देश

छबिलाल आचार्य

छन्द: शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

माटो हूँ ! मुटु हूँ ! म कोमल सदा मै हूँ नयाँ जीवन
मोती फल्छ फलाउँछौँ श्रम गरी छर्दै नयाँ बीजक
मेरो यो ममता छ है युगयुगौँ सत्कर्म मान्छे गरे
टारी फुल्छ मधेश झुल्छ सहजै चोखो पसिना छरे।

मेरा साथ अमुल्य तत्वहरु छन् हूँ कामधेनु पनि
धारा अमृतको बगाई जगमा फुल्दै रहोस् जीवनी
दाना दिन्छु सबै यहीँ श्रम गरे नाना र छाना अनि
बाना मिल्दछ तृप्‍तिको सधै भने खुल्ने छ गाना पनि ।

थाले हेप्न पराइले कटकटी दाह्रा चलाऊन् अब
आफ्नै बर्कतमा छ उच्छ शिर यो पारा चलाऊन् सब
हुर्केलान् बिष बोट स्वार्थ घटिया ताकेर कालो धन
आमाको फरिया नच्यात कपटी डाकेर ती दुष्मन ।

गर्लान् जाल र झेल तुच्छ घटिया माटो नदी तालमा
फस्नै हुन्न कदापि दुष्ट जनका सामन्त सञ्जालमा
गान्धारी दुनियाँ बनाउन यहाँ आँखा थुनी पट्टल
बाँधेका अब फुस्कियून् नजर यी आफ्नै बनून् अक्कल ।

कोरे पूर्वजले साध रगतले टाटा अझै छन् कतै
खम्बा सर्दछ मध्यरात भरमा घाटा अझै छन् कतै
पड्क्यो बन्दुक घाउ छन् तनभरी खाटा अझै छन् कतै
वैरी सामु डटेर लौ सब उठौं बाटा अझै छन् कतै

जन्मे बुद्ध र जानकी जनक यी ती भक्तिथापा पनि
लक्ष्मी भानु र लेखनाथ सम छन् यै मृत्तिकाका मुनि
जन्मोस् एक महान् बडो मनुज जो सम्भार मेरो गरोस्
दूराचार हरोस् निकृष्ट जनको आभा सुनौलो छरोस् ।

तिमी र म

कपिल किशोर घिमिरे

छन्द :भुजङ्गप्रयात
गण: य य य य
विश्रामः छ अक्षरमा

लताझैँ बनेकी ममा बेरिएकी
सधैँ फेरि मेरो मनैमा बसेकी
तिमी प्राण प्यारी म तिम्रो हिरो भै
सदाकाल बस्नेछु तिम्रो बनेरै।

कतै जान्न छोडी सधैँ साथ दिन्छु
म तिम्रो बनेको छु तिम्रै हुनेछु
दिनेछैन पीडा म आफैँ लिनेछु
दियौ साथ प्यारी म साथी हुनेछु ।

मलाई दुखेमा त्यहाँ दुख्न थाल्छ
तिमी पीर मान्दा यहाँ दुख्न थाल्छ
सधैँ साथ हाँसी बसौँला मिलेर
भए बात केही गरौँला खुलेर।

कसैको कुरा सुन्नु राम्रो हुँदैन
कुरा सुन्न थाले फुटाएर हाँस्छन्
छ यस्तै कुसंस्कार मान्छेहरूको
बिगारेर मज्जा लिनेछन् अरूको।

कतै जान थाल्यो सधैँ याद तिम्रो
त्यही यादले भित्र आत्मा छ दुख्दो
गर्‍यौ धेर माया तिमीले मलाई
म जाने कतै छैन एक्लो बनाई।

म झैँ भाग्यमानी कतै छैन होला
मिलोस् भन्छु मैले अझै फेरि चोला
म तिम्रो तिमी मात्र मेरी भएर
बसौँला सधैँ नै असाध्यै मिलेर ।