
म हजुरको ममताको ऋण तिर्न भनी
सपनाको शहर आएको
कलिलो उमेरमा ज्ञानको ज्योति भर्न
न्यानो प्रकृतिको काख त्यागेर
विवश आँखाहरूमा
आँसु लुकाई
रित्तो पेटसँग कयौं रात कटाई
नयाँ बिहानीको आशमा
आफ्नैको अपरिचित बनेर
अपरिचितको आफन्त बनेर
आफ्नै पसिनाको आडमा
मन, मुटु र आत्मामा त्यही आफ्नो माटोको
एक स्मृतिको आशमा
पुरै दिन पराइको गोरेटोलाई
आफ्नो बनाउन कयौं रातदिन पसिना बगाई
मेहनत र पसिनाको बर्सात गराउँदा पनि
आफ्नो बनाउन नसकेको यो कठोर सहर
एक मुठी प्राण राख्न आफ्नो
अमूल्य र ऊर्जावान् समय
बलिदान दिनु परेको विवशता
त्यसमाथि हैसियत मापन गर्ने, नाम मात्रका
कठिन समयका एक जमात मानिसहरू
सफलतालाई नरुचाउने फरक आकृतिहरू
माफ गरिदिनू प्यारी हजुर आमा
हजुरको कोमल मनलाई शितलता नदिई
ती दिव्यताले भरिपूर्ण मधुर स्वरहरूमा लय भर्ने
मेरो सपना त आफ्नै जीवन बनाउने गोलचक्करमा
घुम्दाघुम्दै
पुनः फरक चित्रको हुनुको परिणामस्वरुप
नयाँ परिवेश सजाउन कतिखेर बन्धक भैसकेछु
ठीक त्यसै कठोर समयको चक्करमा
म आफैं हराइरहेका बेला
कतिखेर मेरो धर्ती शून्य बनाई
नयाँ युगको यात्रातर्फ प्रस्थान गरिसक्नु भएछ
म त आफ्नै जीवनको जन्जिरमा कैदी भई
बटुवारुपी दर्शक पो बन्न पुगेछु !
सुनौलो बिहानी अनि गोधुली साँझमा हजुरसँग
भाका मिलाई गाएका श्लोकहरू अझै पनि याद छ
त्यसैले, जहिल्यै, जहाँ रहे पनि
जून बनेर रहनू मेरो कल्पनाको
मोति बनेर रहनू मेरो स्वप्न सागरको
उज्यालो दियो बनेर रहनू मेरो मन मस्तिष्कको
शक्तिकी देवी बनेर रहनू मेरो संघर्षका घडिको
म प्रयास गर्नेछु बाँचुन्जेल
हजुरकै पदचापको पूजा गर्न
हजुरकै आस्थाको रक्षा गर्न
त्यही धूमिल आकृतिलाई धर्तिमा मूर्तरुप दिन ।
दोलखा
हालः भक्तपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

