भनिन्छ शरीर सहर हो
मुटु यसको राजधानी
वर्षौं भयो मुटु अर्थात राजधानी
अर्थात काठमाडौंमा बस्न थालेको पनि
रहरहरू बैँशझैँ उर्लिए सेलाए
दिन बिते रातहरू बिते
त्यसैगरी बिते महिना र वर्षहरू पनि
फेरिए दुनियाँका दैनिकी
फेरिएन त उही काठमाडौं
असुविधाको पर्याय बनेको सहर
सबैले थिचेर हाय: बनेको
आफ्नाहरू बाटै पराया बनेको सहर
यतिबेला ऊ
सजिने रहरमा छ
पुल पुलेसा सजाइँदै छन्
दुलहीझैँ लजाइँदै छन्
मारमा परेका छन् त फुटपाथहरू
अनि फुटपाथमै रोजीरोटीको गुजारा गर्ने
गाडा र नाङ्ग्ले पसलेहरू
हिजोदेखि सुर्तीजन्य पदार्थ बेच्न मनाही गरिएको छ
चुरोट नबेचे चिया बिक्दैन
मन गह्रौं बनाउँदै चिया पसल चलाएर गुजारा चलाउने
आमा प्रश्न गर्नुहुन्छ,
यो सहर कसको हो ?
नीति बनाइनुपर्छ
नियम बनाइनुपर्छ
सबैले भनेकै कुरा हो
सहरलाई सफा राख्नुपर्छ
यसमा कसैको दुई मत नहोला
तर एक मत हुन नसकिएको कुरा
हुँदा खाने वर्गमाथिको प्रहार किन रोकिँदैन !
किन एकपछि अर्का निर्णय आउँछन्
गरिबको हातमुख बन्द गर्नेगरी
र त सोध्न मन लाग्छ
यो सहर कसको हो ?
भन्नुहोला,
नीति नियम बनाउनेहरूको हो
अझ थप्नुहोला
कालो सिसावाला गाडीमा हुइँकिने
सम्भ्रान्त वर्गको हो !
वा भन्नुहोला
सिंहदरबार अनि बालुवाटारमा
सहज पहुँच राख्ने भ्रष्टहरूको हो !
जोड दिएर भन्नुहोला
युवालाई प्रलोभनमा पारेर
विदेश पुर्याउने दलालहरूको हो !
अथवा थप्नुहोला
यो सहर सटर भाडामा लिएर
व्यापार गर्नसक्ने पहुँचवाला सहुजीहरूको हो !
तर भन्नुहुने छैन तपाईंले
कि यो सहर
हरेक वर्ग, तह‑तप्काका मानिसहरूको हो
जहाँ संविधानत:
बाँच्न पाउने अधिकार सबैमा निहित हुन्छ
अनि त बारबार उही प्रश्न दोहोर्याएर
सोध्न मन लाग्छ
यो सहर कसको हो ?
उत्तम विचार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।