माथि लेकमा
चौरी चर्ने चरनतिर
बुकीफूलको बुट्टे आकाशमाथि
एकजोर रंगीन पुतली हात समाएर
रुमानी उडान भरिरहेको देख्छु
लाग्छ खुसी भनेको रुमानी उडान भर्नु रहेछ
देख्छु एक जोर परेवा घर्लम्म घुम्टो ओढेर घुरिरहेको
लाग्छ खुसी भनेको सँगै घुर्नु रहेछ
हिमालको कपालमाथि खुसीले छात्ती खोलेर
हाँसिरहेको आहा आकाश देख्छु
लाग्छ खुसी भनेको हाँस्नु रहेछ
तल बेसीमा दंग, उमंग नाच्दै गरेको
पहेंलो धानबारी देख्छु
लाग्छ खुसी भनेको नाच्नु रहेछ
बगैंचामा मुसुक्क मुस्कुराइरहेको सयपत्री देख्छु
लाग्छ खुसी भनेको मुस्कुराउनु रहेछ
जोडिएको हात देख्छु
साथीभाइको साथ देख्छु, साथी देख्छु
लाग्छ खुसी भनेको साथी रहेछ
आकाशमा मुटु जोडेर स्वतन्त्र उडिरहेको
एक जोडी प्रेमिल मलेवा देख्छु
लाग्छ खुसी भनेको स्वतन्त्रता रहेछ
खोजें खुसी
उनमा खोजें
सुनमा खोजें
मधुर धुनमा खोजें
वोनमा खोजें
क्षणक्षणमा खोजें
कुनकुनमा खोजें
आँखामा खोजें
बोलीभाकामा खोजें
हरिया पाटनहरूमा खोजें
कलकल बग्ने नदीहरूमा खोजें
शुन्य शान्त सागरमा खोजें
कस्तुरीले वीणाको सुगन्ध खोज्दै हिँडेझैं
सुन्दरताको खोजीमा गुराँश भौंतारिएझैं
चमक्क चम्किलो हिमालमा खोजें
पहाड‑पर्वतहरूमा खोजें
खुसी त तल फेदीमा
अनकन्टार गहिरोभित्र पो रहेछ
खुसी त आफैंभित्र त्यो चम्किरा’को रहेछ
खुसी त मैभित्र पो रहेछ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










