१. सुन्दर गोरेटो जिन्दगीको

कोर्ने छु आफ्नै पौरखले,

पछ्याई पाउ देशभक्तका

बन्ने छु सपुत यो भूमिको ।

 

२. बनेर मल्हम ती घाउमा

दल्ने छु आमा तिमीभरि

फुकेर बिगुल म शान्तिको

हाँक्ने छु विश्व सधैँभरि ।

 

३. अलमल कत्ति नगरेरै

झलमल यो देश पार्नेछु

विसङ्गति छन् जताततै

एक एक गर्दै सुधार्ने छु ।

 

 

४. बनाइ कानुन सुहाउँदो

त्यागी कुमार्ग अशान्तिको

थप्ने छु बुँदा सुधारका

काट्ने छु जरो कुरीतिको ।

 

५. गर्नेछु कर्म स्वदेशमै

रम्दै सुकर्म हरघडी

मर्नै परे म यो धर्तीको

खातिर तयार छु सधैँभरि ।

 

६. यौटै छ लक्ष्य महान् हुने

पार्नु छ धर्ती झलमल यो

हँसाई सबलाई मनैदेखि

बन्नु छ सान म भोलिको

बन्नु छ सान म भोलिको ।