जसको धरातल गिलो छ
ऊ भासिन्छु कि भनेर डरायो
जसको पृष्ठभूमि घिनलाग्दो छ
फेरि मैलो लाग्छ कि भनेर डरायो
जसको आवरण नक्कली छ
कतैबाट सक्कली निस्किछ कि भनेर डरायो
जसको अस्तित्व झुटमा टिकेको छ
ऊ सत्य निस्केला कि भनेर डरायो

कसाई अब खुन देख्दा डरायो
जल्लाद लाश देख्दा डरायो
हिमालदेखि हिउँ डरायो
पहाडदेखि जङ्गल डरायो
तराईदेखि समथर फाँट डरायो
डरलाइ डरदेखि डर लाग्दा डर डरायो

व्यापारीदेखि व्यापार डरायो
शिक्षकदेखि शिक्षा डरायो
अदालतदेखि न्याय डरायो
चिकित्सकदेखि चिकित्सा डरायो
विमानदेखि विमानस्थल डरायो
बुद्धदेखि शान्ति डरायो
भोक डरायो, आशा डरायो
सपना डरायो, गन्तव्य डरायो
विकासको पथमा छौँ होला हामी
त्यसैले त जनतादेखि देश डरायो ।