नगरपालिकाका मेयरको घरदैलो कार्यक्रम शुरू भयो‑
छोरी, जा त गुन्द्री लिएर आ
मेयर आए घरदैलोमा

छोरी सोध्छे‑
लौ बाउ, फेरि चुनाव आउन लाग्या हो र ?

‘हैन, भ्युटावरबाट गरिवी देखिएन अरे’

सोध्छन्, मेयर
‘के छ हर्के ?’

बाँचेकै छु सरकार, बस्नु न !

‘पर्दैन हर्के !
म दलित जनजातिका सामाजिक आर्थिक अवस्था जनगुनासा सुन्न आएको

अनि हर्के के खाइराछस् त ?’

त्यही खान्छु सरकार
जुन दलित जनजातिले खान्छन्

मागेको मही, ढिको नूनसँग आधिपेट भात
गरिबी र बेरोजगारीको भार खान्छु

साहुको मार खान्छु, अत्याचार खान्छु
छि छि र दुर दुर त बारम्बार खान्छु सरकार

‘मलाई त लाग्याथ्यो मासुभात खान्छस्’

खान्छु नि सरकार तर चुनावको बेला !

‘अनि पिउँछस् ?’

पिउँछु नि सरकार ! के पिउनु ?
त्यही पिउँछु सरकार जुन दलित जनजातिले पिउँछन्
विभेदको पीडा पिउँछु
सामाजिक घृणा पिउँछु
रगत, पसिना र आँशु त दिनहुँ पिउँछु सरकार !

‘मलाई त लाग्याथ्यो रक्सी पिउछस् !’
पिउँछु नि सरकार तर चुनावको बेला!

‘जहान केटाकेटी कता कता छन् ?’
बुढीलाई भुकम्पले खायो सरकार
छोरीको अझै बोट बाँध्न सक्या छैन
छोरो ऋणको भार घटाउन कतार छ

‘मलाई त लाग्याथ्यो छोराले गाडी चलाउँछ !’
हो नि सरकार तर चुनाव प्रचार प्रसारको बेला !

‘अनि माथिबाट के पाएको छस् त ?’
त्यही पाएको छु सरकार जो असहायले पाउँछ
सरकार, हजुरहरूद्वारा वर्षौंदेखि छल पाएको छु
अभियन्ताद्वारा कुहिएको चामल पाएको छु
मिडियाको बलजफ्तीमा रुन पाएको छु
इज्जत लिलाम गरेर भाइरल हुन पाएको छु

‘मलाई त लाग्याथ्यो सामाजिक सुरक्षा र आर्थिक सहयोग पाएको छस्’
पाएको छु नि सरकार तर चुनावको बेला!

‘अनि के गर्छस् त हर्के?’
त्यही गर्छु सरकार जुन गरिबले गर्छ
धुपमा इँट्टा बोक्छु
दाउराको बिटा बोल्छु
दाह्री कपाल मिलाउँछु
जुत्ता सिलाउँछु
बहुत श्रम गर्छु सरकार !

‘मलाई त लाग्याथ्यो गलत काम गर्छस् !’
गरेँ नि सरकार तर चुनावको बेला !