मैले गीत गाइरहेको बेलामा
तपाईंलाई शान्ति मन पर्छ
अरूले कविता सुनाइरहेको बेलामा
तपाईंलाई मौनता चाहिन्छ
म विद्रोहमा निस्केको बेला
तपाईंलाई तुफान नउठेको ताल मन पर्छ

तपाईंका ती क्रोधित आँखाहरूले भन्छ
छड्के हेराई
दाँतको कटकटाहट
रिस चुहिरहेको रातो गालाले भन्छ
तपाईंलाई नूतन शिशु जन्माइरहेकी आमाको
प्रशव वेदनामा निस्केको डाँको मन परेको छैन
तपाईं त्यतिबेलै मस्त निदाउन चाहनुहुन्छ
कुनै हल्ला खल्ला बिना

तपाईं बिहान जोगीले ढोकामा अलख नजगाओस् भन्नुहुन्छ
मन्दिरमा घण्ट र शंख नबजोस् भन्नुहुन्छ
सडकमा पैतालाको आवाज नहोस् भन्नुहुन्छ
भोको बालक नरोओस् भन्नुहुन्छ
चराहरू मौन हुन्
खोलाहरू नसुनिऊन् भन्नुहुन्छ

मलाई थाहा छ
तपाईं बुद्ध होइन
कहिल्यै बोधिवृक्षमुनि बसेको देखेको छैन
शान्ति पटक्कै तपाईंको खोजी होइन
तर पनि किन हामीलाई फिटिक्कै नबोल भन्नुहुन्छ
शायद सियो खसेको आवाजसँग डराउनु हुन्छ
नत्र किन
नारीका नाडीका चुरा फुट्दा नि कराउनु हुन्छ ?

कति कमजोर आसन हो तपाईंको
दलिन नथर्कने गरी हिँडिदिनु पर्ने ?
कति कमजोर शासन हो तपाईंको
पात नहल्लने गरी सास फेरिदिनु पर्ने ?

आश्चर्य अझ यो लाग्छ कि
हाम्रा ओठ सिएर शान्ति कायम गर्ने हुजुर
जब हामी निदाएका हुन्छौं
तब हरेक रात तपाईं
हाम्रा कान फुट्नेगरी बारूद पड्काउनु हुन्छ
जिब्रो काटिएकाहरूको छातिमा गोली चलाउनुहुन्छ
अट्टाहस गर्नुहुन्छ
आफू आकास चिरिने गरी चिच्याउनुहुन्छ
र अरूलाई नबोल भन्नुहुन्छ
शान्ति/मौनता/शान्ति/मौनता/शान्ति
किन सरकार तपाईं अरूको आवाजसँग यत्तिको डराउनुहुन्छ ?

शंखादेवी