प्रिय जिन्दगी
समयको दुवालीमा
अलिकति खुसीहरू परेका रहेछन्
आइज खित्कासँग मोलेर
अलिकति तँ खा, अलिकति म खाउँला
त्यसपछि छोडेर गए पनि हुन्छ
प्रिय जिन्दगी
समयको रुखमा
झुप्पै झुप्पा दुःखहरू पनि फलेका रहेछन्
आइज नुनिलो आँशुसित साँधेर
अलिकति तँ खा अलिकति म खाउँला
त्यसपछि छोडेर गए पनि हुन्छ
प्रिय जिन्दगी
समयको बगैंचामा
फूलहरू मात्र नफुल्दा रहेछन्
काँडाहरू पनि फुल्दा रहेछन्
उनिउँहरू पनि फुल्दा रहेछन्
म अलिकति सम्बन्धहरूको खेती गरुम्ला
तँ अलिकति विश्वासको झरी पारिदिनु
म केही बुटा प्रेमको गुलाफ रोपुम्ला
तँ त्यसमा समर्पणको रङ भरिदिनु
म हिम्मतका बिउहरू छरुम्ला
तँ आशाका स-साना टुसाहरू उमारी दिनु
म आलस्यता नैराश्यताका झारहरू उखालुम्ला
तँ उत्साह उमङ्गको बर्षात गराइदिनु
म पसिना बगाउँदै बाधा कष्टहरूको राप खपौँला
त थोरै साहस र परिश्रमको बतासले सित्तल पारिदिनु
प्रिय जिन्दगी
म तेरो जिन्दगीसँग थोरै जिन्दगी सापट मागेर
तेरो समयसँग अलिकता समय पैँचो मागेर
म मेरो पूरै समय पूरै जिन्दगी जिउन चाहन्छु
बरु तँ पनि मृत्युलाई थोरै घुस खुवाएर
ढाँटेर छलेर लुकिछिपी भागेर म भएठाउँ सुटुक्क आइज न ल
तँ र म सँगै यात्रा गरौँला
म मेरो जिन्दगीको कथा तँलाई सुनाउँछु
तँ तेरो जीवनकथा मलाई सुनाउनु
म मेरो योजनाहरू सुनाउँछु
उकाली ओराली सम्म भिराली सँगसँगै हिनुम्ला
सँगै उमेरको नदी तरुम्ला
सँगै समयका यामहरू जिउँला
सँगै अभावका शिशिरहरू खपुम्ला
हेमन्तमा सँगै नाचुम्ला गाउँला
प्रिय जिन्दगी
मृत्युसँग आफ्नो जिन्दगी धरौटी राखेर
थोरै समय थोरै जिन्दगी ऋण लिउँला
त्यसपछि मेरो भागको पूरै जिन्दगी पूरै समय
सँगसँगै जिउँला
कालान्तरमा ब्याज तिर्न सकिएन भने
आफ्नो बचेको जिन्दगी मृत्युलाई बुझाएर
म पनि तँसँगै जान्छु
मलाई पनि आफूसँगै लैजा न है !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।