कलामय पनि छ यही दुनियाँ

विज्ञानमय पनि छ यही दुनियाँ

कला भरेर लेखुँ ?

वा

विज्ञान खोजेर लेखुँ ?

भन, म कस्तो कविता लेखुँ ?

 

मेरो गाईलाई रुखमाथि चढाउने

मेरो खुट्टालाई हावामा उडाउने

शब्दमा श्रृङ्गार भरेर

अनेकौँ शिल्पी भरेर

अनेकौँ जादु चलाउने

दृष्यमा आकर्षण भरेर

आवाजमा श्रुतिसौम्य भरेर

अयथार्थलाई यथार्थ जस्तो बनाउने

काल्पनिकतामा जीवन्तता भर्ने

कुरुपै होस् न केही

सुन्दरता भरिदिने

सुन्दरतालाई पनि कहिले कतै

कुरुपै पनि देखाइदिने

कलै कलाले भरिएको

म त्यस्तो कविता लेखुँ ?

 

मेरो गाईलाई घाँसे चौरमा चराउने

मेरो खुट्टालाई धरातलमा टेकाउने

जे छ त्यही

जहाँ छ त्यहीँ

जस्तो छ त्यस्तै

न राम्रो भन्नु छ केही

न नराम्रो देखाउनु केही

न यसोउसो सुझाउने

न उपदेश दिने केही

न बढाएर राम्रो देखाउने

न घटाएर नराम्रो देखाउने

सिर्फ तथ्यमा उभिएका शब्दहरू

न रचनाशिल्पी

न श्रृङ्गार कतै

नमिठो लाग्ला कसैलाई लागोस्

तितो भन्ला कसैले भनोस्

चित्र होस वा चरित्र दुरुस्तै

सत्यतथ्य जे छ त्यसैमा अडिने

विज्ञानलाई म कवितामा पस्कुँ ?

 

देख्नु छ बाटो जुन हो विकासको

देखाउनु छ बाटो त्यही निकासको

नअल्मल्याई

नचढाई नघटाई

नभरी शिल्पी श्रृङ्गार कतै

साहित्यपथमा नै सवार भएर

वा भुलाउँ ?

भीड हिँड्न रुचाउँछ जता

कल्पनाकै हवाइ उडान भरेर

कलै कलाले खुशी छरेर

भन न

म कस्तो कविता लेखुँ ?