विमान स्थलदेखि रत्न मन्दिरसम्म
महाराजाको सवारीको साक्षी तिमी
हिप्पी टुरिजमदेखि
मोर्डन टुरिजमसम्म
आफ्नै आँखाले देखेका तिमी
बिहानी रातो सूर्यसँगै
फुर्तीका साथ बिरुवा फाँटमा जाँदै गरेका
बेलुका थाकेपछि तिम्रै काखमा सुस्ताएका
हली, बाउसे र खेतालाको
पसिनाको साक्षी तिमी
मुद्दाको ठेक्का लिएका
गाउँका फटाहा मुखिया
तिम्रै छेउ आएर बसेको अनि
सिधा र सोझा गाउँलेको आँसु पनि
तिम्रै छेउ आएर पोखिएको पनि देख्यौ
चिनी किन्न आउनेहरूको लस्कर
मट्टितेलको खाली र भरिएका टिन
युरिया, गेडे र चिनी मलका बोरा
अयोडिन छर्केका ढिके नूनका बोरा
खाद्यको चामल
चाइनिज् छाता र
घरेलुका कोरा कपडा पनि देख्यौ
कर्मचारी देख्यौ
ब्रह्मचारी देख्यौ
भ्रस्टाचारी देख्यौ
दुराचारी देख्यौ
पापाचारी देख्यौ
कालोकोट देख्यौ
सेतोकोट देख्यौ
कहिले सुकिला मुकिला देख्यौ
कहिले मैला र धमिला देख्यौ
साहिँली आमैले चिरेर बेचेका कांक्रा
कान्छीले बेचेको फर्सीको मुन्टा
मधेसीले बेचेको स्याउ
सबै सबै देख्यौ
राता झण्डा देख्यौ
कालो झण्डा देख्यौ
नीलो झण्डा देख्यौ
सरकारी कार्यालयहरूको बिचमा बसेर
पहेँलो झण्डा पनि देख्यौ तिमीले
पहेँलोलाई
नीलोले टक्कर दिएको यहीँ त हो
रातो झण्डा उठाएको पनि यहीँ हो
तिमीले सबै सबै देख्यौ
तिम्रो नाम
कहिले रङ लगाएको चौतारी भयो
कहिले पक्का लगाएको चौतारी भयो
कहिले जिल्ला पंचायतको चौतारी भयो
कहिले सहकारीको चौतारी भयो
जब
राष्ट्रिय सम्पत्ति जोगाउने बेला भयो
सहिद हुनु पर्यो जनताले फेरि
र भिज्यो माटो रातो रुधिरले
लतपतियौ तिमी पनि
झपेन्द्र कार्की र ऋषि परियारको रगतले
अनि
पुनः न्वारान भयो तिम्रो पनि
नामाकरण भयो
सहिद चोक ।
पोखरा ७, मासबार, कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।