आज तिम्रो असाध्यै याद आयो बाबा

कसरी पोखुँ र खै ? बाबा
तिमीले मेरा लागि बिताएका
अनिँदा रातहरूबारे
मलाई पेटभरि खुवाउन
तिमी भोकै बसेको बारे
मलाई असल बनाउन
तिमीले घर छोडेको बारे

के यसको बदलामा तिमीलाई
मैले केही दिन सकुँला र बाबा ?

मैले दिन सक्ने त केबल
बुढेसकालसम्म साथ मात्रै हो बाबा

बुढेसकालको तिम्रो लठ्ठी बन्नेछु
बिरामी पर्दा मलम पट्टी बन्नेछु
शिरको टोपी बन्नेछु
बिहान बेलुकाको रोटी बन्नेछु
तिम्रो आँखाको आँसु नभई
ओठको मुस्कान बन्नेछु
तिम्रो नाकमा सुगन्ध छरिरहने
पारिजातको फूल बन्नेछु
गर्मीको सितल पवन बन्नेछु
र जाडोको न्यानो कपडा बन्नेछु

तिम्रो असाध्यै याद आयो बाबा

तिमीले मलाई खडा गर्न
बगाएका पसिनाका थोपाहरू
सञ्चय गरेको भएको सायद सूर्य पनि
रुझ्ने थियो बाबा
मैले संकलन गर्न सकिनँ बाबा

तिमीले पसिना बगाए फलस्वरूप
म हरियो बाली बनेर उम्रने छु
ध्वनि ननिकाली पानी भएर बग्ने छु
हिउँजस्तो सुकिलो भएर उड्ने छु
सितल पवनसरह बहने छु
सगरमाथाजस्तो आकाश छुने छु
नेपालजस्तो सुन्दर बन्नेछु
र बसन्त बनेर फेरि जन्मने छु

तिम्रो असाध्यै माया लाग्यो बाबा।

धनगढी २, चौराहा
स्टेपिङ स्टोन इङ्लिस स्कुल