रोल्पामा जाडो बढेछ डियर कमरेड
अरु त सबै निकै छ
तर रोल्पामा जाडो बढेछ
हाम्रो घरको गाग्रो भन्दा धेरै
सिरकबाट कपास चुइन्छ
सिरक पनि म जस्तै रित्तो हुन लागिसक्यो
त्यही भएर मेरा छोराछोरी अचेल
सिरक भन्दा बढी दुःख ओडेर सुत्छन्
तर मलाई ठीक छ, तातो आँशुले न्यानो बनाउँछ
कमरेड, दशैं यत्तिकै गयो
भुटेको मकै खाइयो
सधैंझैं छोराछोरीको निधार खाली नै रह्यो
जुठो परेर होइन
सातुको टीका लगाउन नमिलेर कमरेड
हजुरलाई त याद नै छ होला
नार्न ठिक्क पारेको विष्टको गोरु बारीमै छोडेर
कसरी तपाईंसँग क्रान्तिको बाटोमा हिँडेको थिएँ
अनि खुशीको कुरा, हाम्रा गाउँका विष्ट अहिले हाम्रै पार्टीमा आएका छन्
चुनाव जितेर ओडाध्यक्ष पनि भएका छन्
तर अचेल उनले मलाई गोरु जोत्न त के घर छेउको बाटो पनि हिँड्न दिन्नन्
चुनाव ताका भोट माग्न आउनु भाको थियो रे
सुन्नमा आयो देश बनाउनु भयो रे
तर भुइँचालोमा भत्केको मेरो घर अझै छाप्रो हुन सकेको छैन
बिष्टका महल रुपि कटेरोमा कर्कटपाता टल्किदा मेरो अँखा भन्दा धेरै मन पोल्छ
ठूलो परिवर्तन लेराउनु भयो रे
तर मलाई न तपाईंले भेट्नु भयो, न तपाईंको परिवर्तनले
सायद मेरो छियाछिया परेको अनुहारलाई तपाईंले चिन्नु भएन होला
यो त तपाईंकै लागि थापेको एम्बुसको छर्राको प्रतिफल हो
तपाईं को जोशिला भाषणले मेरो रगत उम्लिन्थियो कमरेड
के मेरो यो रोदनले तपाईंको स्वार्थको आगो सेलायो त ?
मेरो सघर्ष अचेल मलाई मूतको तातो जस्तै लाग्न थालेछ
अहिले आफैँलाई गनाउँछ, आफैँलाई दिगमिग लाग्छ
पखाल्न पनि सकेको छुइन
किनकि रोल्पामा अहिले जाडो बढेको छ ।
किस्पाङ-२, सातदोबाटो
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।