
युवक विदेशिएपछि
युवती पनि उतै लान्छन्
युवती गएपछि
युवक पनि उतै जान्छन्
यता रोजगार नपाए’सि
उतै कमाइ खान्छन्
दसकभित्रै
देशभित्र
युवापुस्ता सिद्धिन्छन्
सपना बाँड्ने प्रोफेसरका
कलेज रित्तिन्छन्
सके बाउआमा उतै तान्छन्
नसके
बाउआमाले
यतै सिलटिमुर खान्छन्
अरु त गाउँमा को नै हुन्छ र
जनप्रतिनिधि र
नगरपालिकाका कर्मचारी
भ्याई नभ्याई
मलामी जान्छन्।
——-
पुस्ता उतै गएपछि
बेहुला उतै अन्मिन्छन्
बेहुली
उतै अन्मिन्छन्
समुद्रका किनारमा
मधुमास मनाएपछि
शिशु उतै जन्मिन्छन्
डाइपर भन्ने
कोक्रो उतै बुन्छन्
भोटो उतै सिलाउँछन्
स्वास्थ्य
उतै मिलाउँछन्
शिक्षा उतै दिलाउँछन्
बालकहरू
उतैका भाषामा हाँस्छन्
रुन्छन् र
खिल्खिलाउँछन्
यता बस्नेका त के कुरा
चाडबाडमा पनि
मोबाइल रङ्गिन्छन्
विछोडले आँसु टिलपिलाउँछन्।
——-
बालक उतै पढेपछि
यता अक्षर बाँड्ने गुरुबरका
पक्की स्कुल पनि
खाली हुनेछन्
हिंड्ने मान्छे हुने छैनन्
केवल
उकाली ओराली हुनेछन्
बाचा कसम खाने र
फूल चढाउने
मायालु विनाका
उदसीन केवल देउराली हुनेछन्
नदीमा साइनबोर्ड
अर्कैको हुनेछन्
मनमा मात्र
हाम्रो मेची र काली हुनेछन्
बिजुली अरुकै
पानी अरुकै
पुरानो
रष्ट्रिय गीतमा मात्र
‘ए…गण्डकी, कोसी र कर्णाली हुनेछन्’
सकेको खानु, अर्कैको लाउनु
अर्कैको कथामा मात्र नेपाली हुनेछन्
दास भएर
संसारको जुन शहर पुगे नि
जुन चोकम ठिङ्ग उभिए नि
उसको अगाडि
खुकुरी भिरेको
साहसको प्रतिमा
उसैको पुर्खा गोर्खाली हुनेछन्।
खाँदबारी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

