मंसिर पुसको कठ्याङ्ग्रिने
चिसो रातको ठण्डीमा
नांगो आकाश ओढेर
एक मुठ्ठी शित उमालेर
न्यानो पिउँदैछ

एउटा प्रिय सडक
गृष्मको प्रचण्ड गर्मीमा
भत्किएको बहानाको बहस गर्दै
एकसय डिग्रीको तापक्रममा उम्लेको
ठेकेदारको भ्रष्टाचार मिस्सिएको
तातो कालो अलपत्र अलकत्राको
पोलाई खप्न विवश छ
एउटा सडक !

लाखौं मोटर गाडीको टायरले कुल्चेको पीडा खेप्छन्
करोडौं मान्छेको पैतालाको स्पर्श गरेर
पुण्य कमाउँछन्

उसमाथि टेकेर कति मान्छे हिँडे हिँडे
हिँड्दा हिँड्दै कोही गन्तव्यमा पुगे
कोही बीच बाटोमै ढलिगए
-उनी
अनाथ बालकको अभिभावक बन्छन्
एक हुल युवा पार्टीको झोला-झण्डा बोकेर
जिन्दावाद र मुर्दाबादको चर्को कर्कस आवाज सुनेर
आफ्नो कानलाई बिमार बनाउँछन् ।
जस-जसले जे जे गरे पनि जे भने पनि
चुपचाप सहेर बस्छन्

निष्पट्ट अँध्यारो लिपेको सुनसान रातमा
लाखौं कोष टाढा रहेको
जूनताराको उज्यालोमा
एक्लै-एक्लै गुनगुनाउँछन्

सडक पालुवा कुकुरसँगै
एउटा अर्को सडक !

सहन शक्तिको अनुराग कति धेरै-धेरै
अबेर रातसम्म व्यस्त भएर
कुद्न दिन्छन्, हिँड्न दिन्छन् बिहान सबेरै
क्रूर, इमानदार अनेकौंथरि
सजीव निर्जीव सबैको लागि भैदिन्छ बराबरी
कोही आउँछन् खोप्छन्
कोही आउँछन् भत्काउँछन्
कोही आउँछन् टायर बाल्छन्
कोही आउँछन् शान्तिको गीत गाउँछन्
कोही आउँछन् क्रान्तिको बिगुल फुक्छन्
न्याय गुमाएकाहरू न्याय खोज्न आउँछन्
न्याय पाएकाहरू खुशी बिसाउन त्यहीँ छाउँछन्
उनैमाथि बसेर सत्यग्रह बस्छन्
जिउँदो मान्छेले जिउँदो मान्छेसँग अधिकार माग्ने नाउँमा
उस्को जीवनमाथि टायर राखेर बल्छन्
पोलाई खेप्छन्
हेपाई सहन्छन्
ऊबिना गन्तव्यमा पुग्न नसक्ने मान्छेको
एउटा अजम्बरी सडक
अशुभ कुसमय
-कात्रो बेरेको मुर्दा बोकेको मलामी हिँड्दा
घुक्क-घुक्क खुद रुन्छन्
दाम्पत्य जीवनको शुभ-आरम्भ बोकेर आएको
जन्तीको लर्कोसँगै
उनी गदगद खुशी भएर
पञ्चेबाजाको धुनमा मज्जाले नाच्छन्
जस्ले जे गरे पनि
जस्ले जे भने पनि
टुलुटुलु हेरेर सधैं-सधैं सकारात्मक सोच बोकेर
यात्रीको यात्रा गर्ने बाटो बनेको छ
एउटा सुन्दर सडक ।

पाँचखाल
काभ्रेपलान्चोक
हाल: लिमासोल, साइप्रस