ऊ एक राष्ट्रसेवक
कार्यालय उसको मन्दिर
अनि जनता भगवान्
त्यसैले त
जनताप्रति अगाध श्रद्धा छ उसलाई
त्यसैले त ऊ जनसेवामा रमाउँछ
कर्तव्यमा चट्टानझैँ दृढ छ
टेबुलमुनि लामो हात गर्न जान्दैन
बेइमानीको कमाईमा लोभिंदैन
मेचमाथि कोट झुड्याएर
अफिसबाट हराउनेहरू
कोठैपिच्छे नमस्ते टक्य्राउँदै हिँड्नेहरू
जनताको कामभन्दा भाषणमा रमाउनेहरू
मालदार अड्‍डाहरू चहार्दै
रातारात कुबेर बन्दै गर्दा
ऊ अभावसँग पौँठेजोरी खेल्दैछ
उही पुरानो कमिज पाइन्ट
श्रीमतीको फाटेको चोली
घरबेटीको कचकच
छोराछोरीको स्कुलमा तिर्न बाँकी फि
गाउँमा एक्ली बुढीआमा
यस्तै यस्तो नियतिहरूसँग
सिंगौरी खेल्दैछ ऊ
पुरस्कार उसका लागि
कुन चराको नाम हो ?
विदेश भ्रमण त आकाशको फल नै भइहाल्यो
कदरपत्र समेत चण्डालहरूले नै हडप्छन्
पाउने जति त अरुले पाइरहन्छन्
टुलुटुलु हेर्दै उसले जिन्दगीभर गुमाइरह्यो

अब ऊ अवकाश भएको छ
बुढो र जीर्ण शरीर
रोगी श्रीमतीका साथ
पखेटा लागेर छोराछोरी गुँड छाडेर लाखापाखा छन्
अवशेष जिन्दगी
पेन्सन पट्टामा केही जोडी हजारका अंकहरू
निभ्दो बत्तीको नियति

क्या गजब छ जिन्दगी
इमान, समर्पण, त्याग र सेवा
अनि बदलामा
दुःख, पीडा, अभाव अनि घानैघान
देख्नेहरू लजाउन थालिसके
देउता सुन्दैन विधाता देख्दैन
क्या बेहाल छ इमानको ।

पोखरे, भोजपुर