राज्य एक्लो हुन्छ
राज्य शासक भएकाले नियन्त्रणको
क्षमता राख्छ, नियमन गर्छ
धेरै माथि शासन गर्ने भएकाले
राज्यका सीमा पनि हुन्छ
परिधिमा बाँधिएको हुन्छ
शक्ति, स्रोत, सम्पर्क समन्वय सबै हुन्छ
नीति, निमय, दण्ड विधान हुन्छ
राजादेखि रंकसम्म बराबर हुनु पर्थ्यो
तर हुँदैन किनकि
राज्य अन्धो हुन्छ

द्वापर युगका प्रत्यक्ष प्रसारण गर्ने
पत्रकार सञ्जय
जसले कुरुक्षेत्रको युद्धको
प्रत्यक्ष प्रसारण गरेका थिए
दिब्यदृष्टि एक छिन
अर्जुनले पाए
शिर काटिएपछि
बर्वरिकले पाए
भुत, वर्तमान, भविष्य जान्ने गरी
सञ्जयले पाए
तर दिब्यदृष्टिले देखेको सबै
भन्न पाएनन्र, सुनाउन पाएनन्
सेन्सरसिप लाग्यो, किनकि
राज्य अन्धो थियो

युद्ध मैदानमा दुवै शत्रु पक्ष थिए
जतिसुकै नियम बने पनि
आआफ्नो पक्षपोषण गरेका हुन्थे
जित्नका लागि अनेक छल प्रपञ्च
गरिरहेका हुन्थे
जसको
स्वतन्त्र विश्लेषण हुन सकेन
युद्धमा मारिएको दृश्य महत्त्वपूर्ण हुन्थ्यो
युद्ध कौशल, युद्ध कला बुझ्दैनन्
बुझ्नेलाई भन्ने छुट छैन
सत्य देख्छन्, देख्न त आँखाले
सत्य सुन्छन्, सुन्न त कानले
तर भन्ने छुट छैन
राज्य अन्धो छ

कुरुसभामा द्रोपतीको चीरहरण हुँदा
कसैले देखेनन्
देख्ने एउटै बिकर्ण थिए
निरीह, एक्लो, मसिनु स्वर भयो
त्यसै सभामा कपटपूर्ण पासा
खेलाइँदै थियो
कसैले देखेनन्
इन्द्रप्रस्थ कि महारानीलाई वेश्या भनियो
कसैले सुनेन
सौर्य, पराक्रम राज्यका सामु बन्धक थिए
बिदुरको विज्ञानको उपाहास हुन्थ्यो
सत्य धर्मको पाठ सिकाउने
द्रोण, कृप पनि सत्य देख्दैनन्
सबै राज्यका थिए
राज्य अन्धो थियो

इतिहास बिजेताको हुन्छ
त्यसैमा इतिहासकार दयालु हुन्छन्
शासकको वरिपरि परिक्रमा गरेर लेख्छन्
यो सञ्जयको समाचार मात्र होइन
आम पत्रकार हो
आम सञ्चार माध्यमको हो
सबैको यस्तै हुन्छ किन कि
राज्य अन्धो हुन्छ ।

परशुराम १२ उनरुवा, डडेल्धुरा