प्रपञ्च मिलाई जुटेर खायौ
विमति जनाई फुटेर खायौ
गौँडा गौँडामा लुटेर खायौ
सोझासाझालाई कुटेर खायौ

न भनेको मान्छौ
न आफैं जान्छौ
मपाइँत्वको उपाधि भिरेर
तीललाई पहाड
पहाडलाई तील
चोरलाई गुरु
गुरुलाई चोर ठान्छौ

नाच्न जान्दैनौ
आँगन टेडो देख्छौ
हेर्न जान्दैनौ
अरूलाई डेडो देख्छौ

आकाशतिर फर्केर थुक्छौ
जहर छर्केर घुक्छौ
खहरे बनेर सुसाउँछौ
क्षणिकमै बगेर सुक्छौ

आङ कन्याएर छारो उडाउँछौ
नैतिक मानवता भुल्छौ
घर जलाई खरानी बेच्न बजार डुल्छौ
प्रकृतिको दोहन गरेर
सेता हिमाल काला बनाउँछौ
पिपलको पातझैँ जिब्रो चलाउँछौ
न सिन्को भाँच्छौ
न सिर्जना फलाउँछौ
न माटो चिन्यौ
न भाइचारा चिन्यौ
न सद्भाव चिन्यौ

पुरानै प्रवृत्तिलाई चलायमान बनाउँछौ
रुख चढाई फेद ढलाउँछौ
वक्तव्यमा समृद्धि झुलाउँछौ
युवालाई डाँडापारि पठाउँछौ

गल्ती छोप्न मुखपत्रलाई लगाउँछौ
गोहीले जस्तै आँसु पनि बगाउँछौ
टुहुरा खेती गर्न हदै सघाउँछौ
आफैं धामी आफैं बोक्सी भई रमाउँछौ

मौरी बेचेर मह किन्छौ
वन बेचेर एसी लिन्छौ
व्यवस्थासँगै दौरासुरुवाल फेर्छौ
पुर्खाको जेथा सखाप पारेर
धमिलो पानीमा माछा मार्छौ

न कसैले भनेको टेर्छौ
सधैं गलत नजीरले हेर्छौ
अर्कैको कान भर्छौ
भन त महासय तिमी के गर्छौ
तिमी ऊ जुनीको पनि
तिमी यो जुनीको पनि
खानै जन्मेको साहु रहेछौ
खाऊ खानुसम्म खाऊ
दण्डहीनतासँग मितेरी लगाऊ
तिम्रो ऋण चुक्ता नभएसम्म
म खोरिया डाली गरेर
तिम्रो बागडोर जाने आउनेलाई
यो सास रहेसम्म
गाँस काटेर पालिरहुँला ।
~~~~
गजुरी, धादिङ