म शब्द हूँ
निदाइरहेकी राजकुमारी भृकुटीको सपनाभित्र कैद छु

म –
कैलाशकूट दरबारको भित्तामा लट्केको यो आकाश हूँ
कैलाशकूट दरबारको ढोकामा अड्केको यो चन्द्रमा हूँ
कैलाशकूट दरबारको अगेनोमा धसेको यो सूर्य हूँ
कैलाशकूट दरबारको छानोमा फसेको यो बादल हूँ

यहाँबाट निस्कन सकिरहेको छैन

म शब्द हूँ
म निदाइरहेकी राजकुमारी भृकुटीको सपना भित्र कैद छु
म-
कैलाशकूट दरबारभित्र बगिरहेको यो इन्द्रावती नदी हूँ
कैलाशकूट दरबारभित्र भागिरहेका यी महिनाहरु हूँ
कैलाशकूट दरबारभित्र हुर्किरहेको यो बकाइनोको रुख हूँ
कैलाशकूट दरबारभित्र उडिरहेको यो लामपुच्छ्रे चरा हूँ
यो ठाउँ छोडेर अन्त जान सकिरहेको छैन

म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाभित्र कैद –
हात्तीले लगाइरहेको यो श्रीपेच हूँ
गणेश हिमाल बसिरहेको यो सिंहासन हूँ

म शब्द हूँ

निदाइरहेकी राजकुमारी भृकुटीको सपनामा कैद –
अर्को संसारमा जानलाई कैलाशकूट दरबार फुटाउन नसकिरहेको मृगको आत्मा हूँ
पिपलको हाँगामा बसाइँ सर्न नमानिरहेको कैलाशकूट दरबारको कौसी हूँ
कैलाशकूट दरबारको काठ भाँचेर भाग्न नसकिरहेको आवाज हूँ

म शब्द हूँ
म निदाइरहेकी राजकुमारी भृकुटीको सपनामा कैद –
सालको पातलाई त्याग्न नसकिरहेको आकार हूँ
पहिरेका देवी देवताहरुलाई फुकाल्न नसकिरहेको मूर्ति हूँ

म खोलाको आत्मा लगाइरहेको बाघ हूँ
म गाउँ छोड्न नसकिरहेका कुकुर, हँसियाहरू हूँ
म धरती छोडेर भाग्न नसकिरहेको ईश्वर हूँ

राजकुमारी भृकुटीको सपनामा कैद शब्द हूँ

म राजकुमारी भृकुटीका सपनामा कैद –
घाँसमा फुलिरहेका यी ताराहरू हूँ
रुखमा फलिरहेका यी घामहरू हूँ


राजकुमारी भृकुटीको सपनामा कैद शब्द हूँ

म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाको –
यो घोडा हूँ
चाँगुनारायण मन्दिर हुन सकिरहेको छैन
यो गाई हूँ
सुनकोसी नदी हुन सकिरहेको छैन

म शब्द हूँ
म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाको यो चमेली हूँ
रानी लालमतीको सपनामा जान सकिरहेको छैन
म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाको यो बिरालो हूँ
राजा जयस्थिति मल्लको देशमा बाँच्न पाइरहेको छैन

म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाका –
यो वर्षा हूँ
शाह कालका युवतीहरूमाथि बर्सन पाइरहेको छैन
यो पारिजातको फूल हूँ
रानी राजेन्द्रलक्ष्मीका हातहरू सुँघ्न पाइरहेको छैन

म शब्द हूँ
म निदाइरहेकी राजकुमारी भृकुटीको सपनामा कैद यो संसार हूँ
राजा यक्ष मल्ललाई हेर्न पाइरहेको छैन

म शब्द हूँ

निदाइरहेकी राजकुमारी भृकुटीको सपनामा कैद
राजा अंशुवर्माको आत्मा हूँ
कैलाशकूट दरबारबाट निस्कन सकिरहेको छैन ।