ऐना हेर्दा कहिलेकाहीँ
आफैँलाई नचिनेझैँ गर्न पाए पनि हुन्थ्यो
सम्झीसम्झी आफैँलाई
बिर्सन पाए झनै जाती हुन्थ्यो
अपरिचितलाईझैँ आफूले आफैँलाई
महाशय ! तपाईं को हो भनेर सोध्न पाए
झनै रमाइलो हुने थियो

उज्यालो मुनिको अँध्यारोमा बसेर
जिन्दगीको पाना एकपछि अर्को
सरररर पल्टाउन मन थियो
आफ्नै प्रेमको झरीमा निथ्रुक्क भिजेर
आफैँलाई प्रेमपूर्ण आलिंगनमा कस्न मन थियो

तर सोच र चाहना विपरीत हात छुटाएर
समयको हावा किन प्रतिकूल बुर्कुसी मार्छ ?
यही प्रश्न परिचित अपरिचित
सबैसँग सोध्न मन थियो

सधैं चिनेझैँ लाग्छ आफूलाई
तर किन खै
आफूलाई आफू नै अपरिचितझैँ लाग्छ
परिचितभित्रको अपरिचितसँग त्यसै त्यसै डर लाग्छ
यही डर लुकाउन एउटा खुत्रुकेको जोहो गर्ने मन थियो
त्यो खुत्रुके पनि लुकाउन
एउटा विश्वासिलो मन खोज्ने ठूलो रहर थियो

आफू को हुँ भनेर आफैँलाई कहिल्यै सोध्न सकिनँ
आफूभित्र गाँठो परेका प्रश्नहरूको
सरल उत्तर पनि कहिल्यै भेट्न सकिनँ
हजारौं शिक्षकलाई यही एउटा प्रश्न सोध्नु थियो
यही प्रश्नको चित्तबुझ्दो जवाफ खोज्नु थियो ।

तरहरा, सुनसरी